कांग्रेसम महाधिवेशन समयमै नहुँदा आकाश खस्दैन

कांग्रेसम महाधिवेशन समयमै नहुँदा आकाश खस्दैन

भेष बहादुर कार्की

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भाद्र १६ बाट १९ गतेसम्म काठमाण्डौमा गर्ने अन्तिम पटक निर्णय भएको थियो भने नगर र वडा तहको प्रारम्भिक अधिवेशन श्रावण १२ गते गर्ने मिति तय भएको भएपनि तत्कालका लागि रोकिएको छ ।

शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको हो । वडा अधिवेशन स्थगन भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका पनि प्रभावित भएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन, प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६–१९ भदौमा हुने कार्यतालिका थियो । क्रियाशील सदस्यताको काम कार्यतालिका अनुसार नहुँदा महाधिवेशन प्रभावित भएको हो ।

कांग्रेस महाधिवेशनमा क्रियाशील सदस्य प्रारम्भिक मतदाता हुन् । क्रियाशील सदस्यले नै वडा समिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्छन् । क्षेत्रीय प्रतिनिधिले जिल्ला नेतृत्वका साथै केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने कांग्रेसको विधानको व्यवस्था छ । कांग्रेसमा १४ औं महाधिवेशनमा आठ लाख ५० हजार बढी क्रियाशील सदस्य रहेका छन् ।

१२ गते गर्नुपर्ने नगर गाउँका वडा तहको निर्वाचन मंगलबार १२ गते गर्ने औपचारिक निर्णय गरिएपनि (९ श्रावण) आजसम्म निर्वाचनलाई सञ्चालन गर्ने निर्वाचन निर्देशिका समेत तयार भएको छैन ।

न त विभिन्न जिल्लाहरुमा क्रियाशिल सदस्यता सम्बन्धि विवाद समेत समाधान भएको छैन । १० गतेसम्म बल्ल क्रियाशिल छानविन समितिले केन्द्रका प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

यता क्रियाशिल सदस्यता विवादमा केन्द्रीय कार्यालयमा धर्ना प्रक्रिया जारी छ । सांसद अमरेश कुमार सिंहले त क्रियाशिल सदस्यता वितरणमा गलत क्रियाकलाप गरेको कारण सांसद पदबाटै राजिनामा समेत दिईसकेका छन् ।

अर्थात १२ गते हुने भनिएको वडा तहको निर्वाचन गर्न आवश्यक न त सदस्यता सम्बन्धी विषय टुँगो लागेको छ, न त निर्वाचन प्रक्रिया सञ्चालन गर्ने निर्वाचन नामावली तयार गरेर निर्देशिका नै कांग्रेसले बनाएको छ । निर्वाचन समितिले निर्वाचन पूर्व घोषणा गर्ने मतदाताको अन्तिम नामावली प्रकाशन त अझ परको विषय बनेको छ ।

क्रियाशिल सदस्यता विवाद र समाधान एवं निर्वाचन निर्देशिकाको अवस्था, तयारी र क्रियालिशता हेर्दा लाग्छ नेपाली कांग्रेस नेतृत्व तह अधिवेशनको कुरा मात्र कार्यकर्ता रुमल्याउन मात्र गरिएकोे देखिन्छ, गर्न होइन । तर अधिवेशन नगरौं रोकौं अर्को उपर्युक्त समयको प्रतिक्षा गरौं भन्ने साहस कसैले गरिरहेको छैन ।

नेपाल कोरोना भाइरस संक्रमणको महामारीमा फसेको छ । न त यस रोगको गतिलो उपचार भेटिएको छ, न त विश्व बजारमा थोरै उपलब्ध भएको कोरोनाको भ्याक्सिनमा नेपालीहरुको सहज पहुँच भएको छ ।

अघिल्लो वर्ष झण्डै चार महिना र यो वर्ष तीन महिना वेशी लकडाउनको मार नेपालीले खेपे । तर कोरोना पूर्ण त के कत्ति पनि नियन्त्रणमा आएको देखिँदैन । १०-१२ हजारको परीक्षण गर्दा २० देखि २७ प्रतिशतसम्म रोगी भेटिएका छन् । दैनिक डेढ दर्जन बढीले ज्यान गुमाईरहेका छन्, कोरोनाकै कारण । अब यस्तो विषम् परिस्थितिको नियन्त्रण खोपको सर्वसुलभ पहुँच नेपालको एकमात्र ध्यय हुनुपर्दछ ।

भर्खर दुई तिहाईको नेतृत्व विस्थापित भएर प्रतिपक्षी नेपाली कांग्रेस सरकारको नेतृत्वमा पुगेको छ । गत विर्नाचनमा नराम्ररी मात खाएको कांग्रेस सहजै सरकारको नेतृत्व गर्न पुग्यो, यस्तो अवसरलाई अत्यन्त सदुपयोग गर्दै पहिलो कर्तव्य कोरोनाबाट मुक्ति दिलाउन र कोरोनाबाट थपिएको अर्थव्यवस्था उकास्नुपर्छ । न कि अधिवेशनको नाममा वडा तह देखि नै भिड भाड बढाएर कोरोनालाई बढावा दिने अवस्था बढाउनु हुँदैन ।

कांग्रेसले अधिवेशन अहिले भन्दा एक डेढ वर्ष अगाडि नै गर्नुपथ्र्यो । समय हुँदा थप थाप गरि गुज्रियो । अहिले कोरोनाको मलजल गर्न अधिवेशन गर्नु हुँदैन, कानुनी र संविधानका व्यवस्था, व्याख्या गरेर अधिवेशन रोक्नुपर्छ । अहिले रोक्दा असक्षम होइन दुरदर्शिता ठहरिन्छ । जनता र कार्यकर्ताप्रति माया गरेको ठहरिन्छ ।

कांग्रेस अधिवेशनको कारण फैलिन सक्ने कोरोनाले ज्यान गयो भने कांग्रेसलाई गम्भीर क्षति हुन्छ । नेपालमा अरु पनि दलहरु छन् कसैले पनि समयमा नै अधिवेशन गराएका छैनन्, नेपाली कांग्रेस चाँहि किन मरिहत्ते गर्ने ? जब कि विषम् कारणले पञ्चायतको अन्त्य नहुँदा ३० वर्ष भन्दा बढी समय कांग्रेसले अधिवेशन गरेको थिएन । अहिले पनि केही फरक पर्दैन ।

शनिबारमात्र तीन हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित बन्न पुगेका छन् भने १६ जना मानिसले ज्यान गुमाएका छन् । केही समय अघि सरकारले उपत्यकामा निषेधाज्ञा लागू गर्दा कोरोना भाइरस संक्रमणमा कमी आएको थियो । देउवा सरकारले समेत कोरोना नियन्त्रणका बेलैमा सचेत बन्न जरुरी छ ।

अधिवेशन तिनैलाई हतारो छ, जो कांग्रेसलाई आफ्नो स्वार्थमा हिडाउन र लगानी भन्दा सावा व्याज असुल्न उद्दत छन् । कद भन्दा ठुला पद हत्याउन चाहान्छन् । पार्टीलाई भन्दा आफ्नो हितलाई नै प्राथमिकता दिने इच्छा राख्दछन् ।

जेहोस्, आसन्न चौधौं महाधिवेशन नेतृत्व तहले आससी सहमति स्थापना गरेर सुरक्षित अवतरण गर्नुको विकल्प छैन । कोरोनाको फैलावट रोक्नुको विकल्प छैन ।

लोकप्रिय