विद्रोहको मनस्थितिमा विद्यादेवी

विद्रोहको मनस्थितिमा विद्यादेवी

 

काठमाडौ । नेपालको राजनीतिमा अन्तरघात, विश्वासघात, आफन्तवाद त थियो नै पछिल्लो राजनीतिक घटनाक्रमले राजनीतिमा निषेध पनि थपिएको छ । नेकपा एमाले पार्टीले दिएको जिम्मेवारी बहन गर्दै दुई कार्यकाल सर्बोच्च पद राष्ट्रपति पदको गरिमा बचाउँदै विवादरहित ढँगले कार्य सम्पादन गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूँ सक्रिय राजनीतिमा फर्किने उद्घोष गरेकी छन् । तर नेकपा एमालेले पार्टी सदस्यता नविकरण नगर्ने निर्णय गरेपछि उनी रोकिनुपर्ने अवस्था सिर्जना भएको छ । यद्यपि भण्डारीले आफूँलाई सक्रिय राजनीतिमा फर्किन कसैले रोक्न नसक्ने बताएकी छिन् । पार्टीले उनीमाथि राजनीतिमा आउन प्रतिबन्ध लगाएपनि उनले विद्रोह गरेर भएपनि राजनीतिमा सक्रिय हुने जनाउ गरेकी छन् ।
शुक्रबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी भण्डारीले आफूँ एमालेमै रहेको र एमालेमा नै रहने जानकारी गराउँदै आफ्नो सदस्यता कसैले खान नसक्ने दाबी गरेकी छिन् । पूर्वराष्ट्रपति भईसकेकी व्यक्ति एउटा पार्टीको राजनीतिमा सक्रिय हुनु राष्ट्रपति पदको गरिमा घट्ने टिका टिप्पणीहरु पनि नभएको होइन ।
यद्यपि पार्टीको विधान र संविधानले राष्ट्रपति भईसकेको व्यक्ति राजनीतिमा फर्कन पाउने कि नपाउने भन्ने विषयमा स्पष्ट उल्लेख नगरेको कारण विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा आउने चाहनालाई बन्देज गर्न खोज्नु कानुनविपरित हुने राजनीतिक विश्लेषकहरुको दाबी छ ।
पूर्वराष्ट्रपति भण्डारीले पार्टीको सदस्यता लिएको ४५ वर्ष पुगेको बताइन् । सदस्यता लिएको ३५ वर्षमा पार्टीको निर्णयका आधारमा राष्ट्रपति हुन गएको भन्दै आफूले पार्टी परित्याग गरेर राष्ट्रपति हुन नगएको तर्क गरिन् । उनले अध्यक्ष ओली लगायतका नेताहरूलाई मुठ्ठीभरका केही व्यक्तिहरूको संज्ञा दिँदै हुलहुज्जतका भरमा सदस्यता नखोसिने बताइन् ।
‘नवीकरण विधिपूर्वक गरेको छु । केही मुठ्ठीभर व्यक्तिहरूले यत्तिकै हुलहुज्जतका भरमा अथवा उत्तेजनामा आएर गर्न मिल्दैन,’ उनले भनिन्, ‘हाम्रो पार्टी एउटा प्रणालीमा चल्छ । कसलाई, कतिखेर के मन लाग्यो त्यतिखेर गर्नेकुरा गर्नु त्यो राम्रो विषय होइन । म नेकपा(एमाले)को परिवारमा अहिले पनि आवद्ध छु ।’
४५ वर्षअघि एमालेका तत्कालीन नेता मदन भण्डारीसँग सपथ लिएको उल्लेख गर्दै कसैलाई लागेको भरमा आफ्नो सदस्यता खान नसक्ने बताइन् । ‘मैले विराटनगरमा पार्टी सदस्यता लिएको हो । जननेता मदन भण्डारी त्यतिखेर कोसी–सगरमाथाको इन्चार्ज हुनुहुन्थ्यो उहाँले सपथ खुवाएको हो मलाई । अब अहिले यहाँ कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता कसैले खान सक्छ जस्तो मलाई लाग्दैन,’ उनले भनिन् । उनले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्न नहुने प्रष्ट पारिन् ।
उनले राजनीतिमा आउन पाउनु आफ्नो संवैधानिक अधिकार भएको बताइन् । संविधान, ऐन, कानुन र पार्टीको मूल्य मान्यताले समेत आफूलाई नरोक्ने भन्दै संवैधानिक अधिकार र स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजिएको बताइन् ।
‘संविधानका विभिन्न धारा, मर्म र भावना कहीँ कतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन,’ उनले भनिन्, ‘नेपालको संविधान, ऐन, कानुन र पार्टीको लोकतान्त्रिक मूल्यमान्यता समेतलाई नजरअन्दाज गरेर राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन वा नियन्त्रण हुनेगरी निर्णय हुनु दःुखद् छ ।’
उनले घुमाउरो शैलीमा वर्तमान अध्यक्ष केपी शर्मा ओली पार्टीले अंगीकार गरेको सिद्धान्त जनताको बहुदलीय जनवादको विरोधी भएको आरोप लगाइन् । आफूलाई पार्टी सदस्य हुन वञ्चित गर्नु नै जबज विरोधी हर्कत भएको उनको धारणा छ ।
उनले बृहत् छलफल गरिकन विकेकसम्मत् ढंगले निर्णय गर्नुपर्दछ भन्ने जबजको पार्टी निर्माणसम्बन्धी अवधारणाको मर्म भएको भन्दै त्यस्तो हुन नसकेको बताइन् ।
उनले आफ्नो निर्णयबाट विचलित नहुने बताइन् । उनले जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न पार्टी कार्यकर्ताहरूलाई आग्रह गरिन् । निर्धक्क, ढुक्क र दृढ भएर पार्टीको मूल्यमान्यतालाई आत्मसात गर्दै पार्टी निर्माणमा सक्रिय हुन उनको आव्हान छ ।
पत्रकार सम्मेलनमा हँसिलो मुहारमा छिरेकी भण्डारीले आफूलाई पार्टीको सदस्य मात्रै भनिनन्, पार्टी संस्थापन पक्ष नै आफू भएको रूपमा प्रस्तुत भइन् । सञ्चारकर्मीहरूले उनलाई सदस्यता खारेजी भएको सन्दर्भमा न्याय माग्न अदालत जानुहुन्छ कि जानुहुन्न ? भनेर प्रश्न गरेका थिए । प्रत्युत्तरमा उनले आफू एमालेको सदस्य नै रहेको जबाफ दिइन् । आगामी विकल्पहरूको बारेमा राजनीतिक वृत्तमा चर्चा भएजस्तो अदालतमा जाने पक्षमा देखिइनन् ।
मदन भण्डारीको फोटो अंकित जनताको बहुदलीय जनवाद जिन्दावाद र नेकपा (एमाले) जिन्दावाद लेखिएको ब्यानरमा भएको पत्रकार सम्मेलनलाई उनले पूर्वराष्ट्रपतिको रूपमा नभई पार्टीको पूर्वउपाध्यक्षको रूपमा कुरा गरेकी थिइन् । पूर्वउपाध्यक्षकै रूपमा प्रेस विज्ञप्ती जारी गरिन् ।
आगामी कार्यक्रमहरू पनि एमालेको पूर्वउपाध्यक्षकै रूपमा गर्ने उनले संकेत गरेकी छन् । भण्डारी कार्यक्रम स्थलमा आउँदा उपस्थित कार्यकर्ता तथा शुभेच्छुकहरूले विद्या भण्डारी जिन्दावाद, नेकपा(एमाले) जिन्दावादको नारासमेत लगाएका थिए । यसर्थ पार्टी पंक्तिमा समेत भण्डारीको समर्थक र शुभचिन्तकको संख्या ठुलो रहेको अवस्था छ । उनले ती शुभचिन्तक र समर्थकहरुको सहयोगमा पार्टीमा विद्रोह गर्न सक्ने स्रोतको दाबी छ ।
अपटुडेट साप्ताहिकबाट

लोकप्रिय