पुष्पलाल पढ्ने मात्र होइन, करियर बनाउने ठाउँ बन्नेछ

पुष्पलाल पढ्ने मात्र होइन, करियर बनाउने ठाउँ बन्नेछ

क्याम्पस प्रमुख नारायणबाबु तिम्सिनासँग अन्तर्वार्ता

“पुष्पलाल पढ्ने मात्र होइन, करियर बनाउने ठाउँ बन्नेछ”

काठमाडौं महानगरपालिका वडा नं. ७, चाबहिल चोकमा रहेको पुष्पलाल मेमोरियल कलेज त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित कलेज हो। यहाँ कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका कक्षा सञ्चालन हुन्छन्। कलेजको वर्तमान अवस्था, उपलब्धि, उद्यमशीलता र आगामी योजनाबारे कलेजका क्याम्पस प्रमुख नारायणबाबु तिम्सिनासँग कक्षा १२ मा अध्ययनरत छात्राहरू सुष्मा गुरुङ र ममता शाहीले कुराकानी गरेका छन्। क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेको दुई महिना पुगेका तिम्सिनासँग गरिएको कुराकानीको सम्पादित अंश:

सर्वप्रथम, पुष्पलाल मेमोरियल कलेजको परिचय र वर्तमान अवस्थाबारे बताइदिनुहोस् न।

पुष्पलाल मेमोरियल कलेज त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित कलेज हो, जुन काठमाडौं महानगरपालिका वडा नं. ७ मा अवस्थित छ। यहाँ स्नातक तहमा बीबीएस, बीए र बीएडका कक्षा सञ्चालन भइरहेका छन्। त्यस्तै स्नातकोत्तर तहमा एमबीएस, एमए र एमए समाजशास्त्रका कक्षा चलिरहेका छन्। यससँगै कक्षा ११ र १२ लाई पनि जोडेर हामी विद्यालय तहदेखि स्नातकोत्तर तहसम्मका कक्षा सञ्चालन गरिरहेका छौं।

कलेज प्रमुखका रूपमा तपाईंको जिम्मेवारी र अनुभव कस्तो रह्यो?

कलेज प्रमुख भएको दुई महिना भयो। यो अवधिमा आन्तरिक व्यवस्थापनमा धेरै काम गर्नुपर्ने र कलेजलाई नयाँ, परिवर्तित शैलीमा अगाडि बढाउनुपर्ने अवस्था छ। हामी त्यसैमा लागिरहेका छौं। अहिलेसम्मको अनुभव सुखद नै छ।

कलेजको शैक्षिक विकासमा तपाईंले देख्नुभएका प्रमुख उपलब्धि के–के हुन्?

हाम्रो कलेज काठमाडौं क्षेत्रमा त्रिभुवन विश्वविद्यालयको नतिजामा शीर्ष स्थानमा पर्न सफल भएको छ। स्नातक तहमा हाम्रा उत्कृष्ट विद्यार्थीले बीबीएसमा ८४ प्रतिशत, बीएमा ७९ प्रतिशत र बीएडमा ७६ प्रतिशत अंक ल्याएका छन्। यसरी हेर्दा ७० प्रतिशतभन्दा माथि अंक ल्याउने विद्यार्थी हाम्रो कलेजमा छन्। त्रिविसँग सम्बन्धन प्राप्त अन्य कलेजसँग तुलना गर्दा हाम्रो कलेज निकै राम्रो अवस्थामा छ।

दोस्रो कुरा, यहाँबाट अध्ययन पूरा गरेर गएका धेरै विद्यार्थी राम्रो रोजगारीमा छन्। कतिपय सरकारी सेवामा कार्यरत छन् भने कतिपय विद्यार्थी विभिन्न युरोपेली विश्वविद्यालयमा अध्ययनका लागि गएका छन्। यस हिसाबले कलेज सफल अवस्थामा छ भन्न सकिन्छ।

यो वर्षदेखि हामी केही परिवर्तन गर्दै छौं। सूचना प्रविधि (आईटी) सम्बन्धी कार्यक्रम सुरु गर्ने गरी बीआईटी, बीसीए, बीबीएलगायतका कोर्स ल्याउने प्रक्रिया अघि बढाएका छौं। इन्टरनेट सुविधासहित ३६ वटा कम्प्युटर भएको ल्याब सञ्चालन गर्न सक्ने क्षमता हामीसँग छ। यस वर्षदेखि कक्षा ११ मा विज्ञान विषय सुरु गरेका छौं र त्यसका लागि विज्ञान प्रयोगशाला पनि उत्तिकै राम्रो बनाएका छौं। अनुभवी शिक्षकहरूलाई प्राध्यापकका रूपमा व्यवस्था गरेका छौं।

अब पुष्पलालमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यक्रम मात्र पढाएर पुग्दैन। त्यसैले विभिन्न तालिम र करियरसम्बन्धी तालिम पनि जोड्दै छौं। विद्यार्थीलाई कम्प्युटरका विभिन्न कक्षा निःशुल्क सञ्चालन गरिदिन्छौं। रोजगारी चाहने विद्यार्थीलाई रोजगारदातासँग जोडिदिन्छौं। पुष्पलालमा पढ्न मात्र होइन, यहाँ आएपछि करियर विकासमा सहयोग पाइन्छ भन्ने विश्वासका साथ विद्यार्थी आऊन् भनेर करियर सहयोग सेवा सुरु गरेका छौं।

साथै खेलकुदलाई प्राथमिकता दिँदै ‘पुष्पलाल स्पोर्ट्स क्लब’ सञ्चालन गरेका छौं। नृत्य र संगीत क्लब पनि गठन गरेका छौं। नृत्य र संगीतमा राम्रो प्रतिभा भएका विद्यार्थीलाई रियालिटी शोहरूमा सहभागी हुने अवसर दिलाउन पनि पहल गरिरहेका छौं।

नेपालमा अवसर सिर्जना गर्ने उद्यमशीलताको विकासमा कलेजको भूमिका कस्तो रहेको छ?

हामी विशेषगरी त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) का पाठ्यक्रम सञ्चालन गर्छौं। तर शैक्षिक प्रमाणपत्र मात्र लिने, सीप नहुने र रोजगारी नपाउने अवस्था