काविल मुख्यसचिव अर्यालका चुनौती ?

काविल मुख्यसचिव अर्यालका चुनौती ?

 

काठमाडौ । सरकारले मुख्यसचिवमा काविल र स्वच्छ छवि भएका प्रशासक एकनारायण अर्याललाई नियुक्त गरेको छ । स्याङ्गजामा जन्मिएका अर्यालले नेपालको प्रशासनिक क्षेत्रमा ३५ वर्षे अनुभव हाँसिल गरेका छन् । उनी २०४६ मा नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका हुन् ।
त्यसैगरी २०५१ फागुन ४ गते शाखा अधिकृत नियुक्त भएका अर्याल २०५८ माघ ६ गते उपसचिवमा बढुवा भएका थिए । त्यसपछि उनी २०६७ फागुन १९ गते सहसचिव र २०७६ फागुन १८ गते सचिवमा नियुक्त भएका थिए । अर्याल यसअघि जिल्ला प्रशासन कार्यालय मकवानपुर, काठमाडौं र तनहुँको प्रमुख जिल्ला अधिकारी भइसकेका छन् । उनले गृह मन्त्रालयमा सहसचिवको रूपमा रहँदा गृह प्रशासन सुधार, योजना निर्माण र त्यसको कार्यान्वयनमा महत्वपूर्ण योगदान गरेका थिए ।
उत्कृष्ट निजामती सेवा पुरस्कार पाएका अर्याल भारतको कोलकत्तास्थित महावाणिज्यदूत भएका थिए भने काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा पनि काम गरेका छन् । उनी यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको जिम्मेवारी सम्हालिसकेका छन् । उनी २०८० फागुन ३० गतेदेखि गृह मन्त्रालयको सचिवको रूपमा कार्यरत थिए ।
अर्याल सरुवा भएर गएका निकायमा सुधारका प्रयास गर्ने राष्ट्रसेवकमा रूपमा चिनिन्छन् । गृहको सचिवमा बनेपछि उनले अध्यागमन प्रशासनमा सुधारका आयोजना ल्याएका थिए । अध्यागमन प्रशासनलाई अत्याधुनिक, प्रविधिमैत्री र व्यावसायिक बनाउने कामको सुरुवात गरेका थिए । अध्यागमन सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी, सूचना प्रविधि मैत्री एवं विश्वसनीय तथा उच्च सुरक्षासहितको जोखिमरहित अन्तर्राष्ट्रिय स्तरको समकक्षतामा पु¥याउने गरी अध्यागमन प्रशासन सुधार योजना उनले ल्याएका थिए ।
गुणस्तरीय सेवा प्रवाह र सुशासन अर्यालका मुख्य चुनौती
पछिल्ला समय प्रशासनिक क्षेत्र जनस्तरमा निकै बद्नाम छ । सरकारी कार्यालयबाट प्राप्त हुने सेवा सुविधा लिनका लागि निकै नै सकस छ । कर्मचारीहरु कामचोर, कमिसनखोर र भ्रष्ट भएको आरोप लागिरहेको छ । नवनियुक्त मुख्यसचिव अर्यालसामू विकृत्त र बद्नाम प्रशासनिक जगत् सुधार मुख्य चुनौतीको विषय बनेका छ । त्यसैगरी जथाभावी कर्मचारी सरुवाका कारण सेवा प्रवाहमा खस्किँदै गएको छ । सरकार परिवर्तन हुनासाथ आस्थाका आधारमा सचिवदेखि खरिदसम्मलाई भकुण्डो बनाइन्छ । यसले कर्मचारीहरुको क्षमता बृद्धि र मनोबलमा समेत गम्भीर असर परेको गुनासो कर्मचारी बृत्तबाटै सुनिने गर्दछ ।
मुख्यसचिव अर्याललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिँदै भनेका छन्, सेवा प्रवाह र सुशासनमा जोड दिनुहोस ।’ मुख्यसचिव अर्यालले पनि प्रधानमन्त्रीको निर्देशनलाई सार्थकता प्रदान गर्नेमा प्रतिवद्धता जनाएका छन् । यद्यपि उनीसामू बग्रेल्ती चुनौतीहरु भने रहेका छन् । केही कर्मचारीहरु माफियासँग सेटिङ्ग गरेर अतिरिक्त कमाई गर्ने ध्याउन्नामा लागेका छन् ।
माफियाकै जोडबलमा सेटिङ्गका काम मात्र गर्ने जनताको काम नगर्ने प्रवृत्ति हावी भएको छ । कर्मचारीको यस्तो गलत प्रवृत्तिको अन्त्य गर्न मुख्यसचिव अर्यालले नयाँ र कठोर फर्मूला अपनाउनु आवश्यक छ । होइने भने कर्मचारीप्रति आम नागरिकको बुझाईमा परिवर्तन हुन सक्दैन । मुलुकमा असल शासन, सुशासन र गुणस्तरीय सेवा प्रवाह हुन सक्दैन ।

लोकप्रिय