साल्ट ट्रेडिङले उपभोग्य वस्तुको आपूर्ति सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउनुपर्छः मन्त्री भण्डारी
काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउन सक्नुपर्ने बताएका छन्।
कर्पोरेसनको ६२ औँ वार्षिकोत्सवमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा उनले उपभोग्य वस्तुको अभाव हुन नदिएर यसले जनता र सरकारको विश्वासिलो संस्थाका रुपमा आफूलाई उभ्याउन सक्नुपर्नेमा जोड दिए। ‘साल्ट ट्रेडिङ जनताको विश्वासिलो संस्था बन्न सकोस्, ‘अब दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन साल्ट ट्रेडिङ मेरो साथमा छ’ भनेर आमजनतालाई विश्वास दिलाउनुपर्छ’, मन्त्री भण्डारीले भने, ‘उपभोग्य वस्तुको कृत्रिम अभाव तथा अस्वभाविक मूल्यवृद्धि हुन नदिन यस संस्थाले उपभोग्य बजारमा गतिलो हस्तक्षेप गर्नुपर्छ ।’
सेवा प्रवाह, बजारीकरण, दायरा र व्यापार वृद्धि गर्न प्रविधिको प्रयोगलाई बढावा दिनुपर्नेतर्फ सचेत गराउँदै मन्त्री भण्डारीले उपभोग्य वस्तुको कृत्रिम अभाव अन्त्य गर्न तथा रासायनिक मलको सहज आपूर्तिमा यसले नेतृत्वयादी भूमिका निर्वाह गर्नुपर्छ । ‘साल्ट ट्रेडिङ यस्तो ब्राण्ड बनोस्, कि नामै काफी होस्, यसको उत्पादन आफ्नै ब्राण्ड बनोस्’, उनले भने ।
मन्त्री भण्डारीले व्यवसाय विस्तारका योजना बनाउन व्यवस्थापन र कर्मचारीलाई निर्देशनसमेत दिए। ‘सेवा प्रवाहलाई छिटो छरितो र सहज बनाउँदै उच्च गुणस्तरको उपभोग्य वस्तुको आपूर्तिमा व्यवस्थापनले ध्यान दिनुपर्छ’, उनले भने, ‘कर्पोरेसनलाई नेपालको भरपर्दो र विश्वासिलो तथा कृत्रिम अभाव अन्त्य गरी सहज आपूर्ति गर्नसक्ने संस्था बनाउनुपर्छ ।” मन्त्री भण्डारीले आपूर्ति बजारमा साल्ट ट्रेडिङको भूमिका अपरिहार्य रहेको र अप्ठ्यारो अवस्थामा अत्यावश्यक वस्तुको उपलब्धता सहज बनाउन संस्थाले उल्लेख्य काम गरेको स्मरण गरे ।
प्रतिकृया दिनुहोस्