पश्चिम नवलपरासीमा वर्षौंदेखि ५० खानेपानी योजना अधुरै

काठमाडौं । पश्चिम नवलपरासीमा वर्षौंदेखि निर्माण सुरु भएका ५० वटा खानेपानी योजना अझै अधुरै छन् ।
सङ्घ र प्रदेश सरकारको लगानीमा निर्माण भइरहेका ७२ योजनामध्ये २२ वटा मात्रै सञ्चालनमा छन् भने अन्यको काम सम्पन्न हुन सकेको छैन । तीमध्ये सनई, रगरगञ्ज, गेरमी, पाल्ही, हरपुर खानेपानीलगायतका योजना चार वर्षभन्दा लामो समयदेखि करिब अलपत्र अवस्थामा छन् ।
पाल्हीनन्दन–६ का स्थानीयले निर्माणाधीन योजनाका बाँकी काम सम्पन्न गर्न बजेट अभाव हुँदा थप काम अगाडि बढ्न नसकेको जवाफ पाइने गरेको गुनासो गरेका छन् । जसकारण आफूहरू आर्सनिकयुक्त चापाकलको पानी पिउन बाध्य भएको उनिहरुले दुखेसो पोखेका छन् ।
सङ्घीय सरकारका २५ योजनामध्ये १२ वटा सञ्चालनमा छन् भने १३ वटा अझै निर्माणकै अवस्थामा रहेका छन् । यस्तै, प्रदेश सरकारका ४७ योजनामध्ये १० वटा सञ्चालनमा छन् भने ३७ वटा योजना अझै सम्पन्न भएका छैनन् । सङ्घीय सरकारले कार्यान्वयन गरिरहेका योजनामा समग्रमा तीस प्रतिशत काम बाँकी छ । यसका लागि ३५ करोड रुपैयाँ बजेट भए योजना सम्पन्न हुने नवलपरासी बर्दघाट सुस्ता पूर्व खानेपानी तथा सरसफाइ कार्यालयले जानकारी गराएको छ ।
साथै प्रदेश सरकारअन्तर्गतका योजनाको ६० प्रतिशत काम बाँकी रहेको छ । यसमा ७० करोड रुपैयाँ अझै आवश्यक रहेकोले बजेट अभावकै कारण योजनाको काम करिब ठप्प रहेको कार्यालयले बताएको छ । निर्माणाधीन अधिकांश योजनामा पाइपलाइन, ट्याङ्की, विद्युतीकरणलगायत काम बाँकी नै रहेकोले चालु आर्थिक वर्षमा खानेपानीका लागि ११ करोड सात लाख ९२ हजार रुपैयाँ विनियोजन भएकाले केही योजना सम्पन्न हुने अपेक्षा गरिएको छ ।
प्रतिकृया दिनुहोस्