नारायणघाट–बुटवल सडकमा साना पुल निर्माण सम्पन्न
काठमाडौं । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको पूर्वीखण्डमा निर्माण हुने सबै साना पुल निर्माण सम्पन्न भएका छन् । पूर्वीखण्डको गैँडाकोट-दाउन्ने खण्डमा निर्माण हुने २२ वटै साना पुल निर्माण सकिएका हुन् ।
नारायणघाट बुटवल सडक योजना अनुसारका २५ मिटरभन्दा छोटालाई साना र २५ मिटरभन्दा लामा पुललाई ठूला पुलको रुपमा राखेर निर्माण गरिएका छन् । यस खण्डमा १२ ठूला पुल निर्माण हुनुपर्नेमा पाँचवटा निर्माण सम्पन्न भएका छन् ।
गैँडाकोटको जयश्री, बेल्डिहा, मध्यविन्दुको गिरुबारी र अरुणखोला पुल बाहेकका सबै पुल आगामी असारसम्म निर्माण सम्पन्न हुने बुटवल सडक विभागले जनाएको छ ।
ग्लोबल टेण्डरमार्फत ठेक्का पारेर चीनीयाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेडले सरकारसँग २०७५ माघमा सम्झौता गरी गत चैत ८ गतेदेखि सडक विस्तारको काम थालेको थियो ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा उल्लेख गरिएको भन्दा चार गुणा बढी रुख काट्नु परेको, रुख कटानको स्वीकृति ढिला आएको, बिजुलीको पोल सार्न ढिलाइ भएको, निर्माण सामग्री उपलब्ध हुन ढिलाइ भएको, कोभिड–१९ सङ्क्रमणलगायत समस्याले सडक विस्तारमा ढिलाइ भएको भन्दै निर्माण कम्पनीले पटक पटक सडक विस्तारको म्याद थप गर्दै आएको छ ।
४२ महिना (२०७९ साउन)मा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको सडकको तेस्रोपटक थप गरिएको म्याद आगामी असारमा सकिँदैछ ।


प्रतिकृया दिनुहोस्