डा.विश्व पौडेलविरूद्धको रिट सर्वोच्चद्वारा दरपीठ

डा.विश्व पौडेलविरूद्धको रिट सर्वोच्चद्वारा दरपीठ

काठमाडौं । गभर्नरको चर्चामा रहेका डा.विश्व पौडेलविरूद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ ।

गभर्नर बन्न अयोग्य रहेको भन्दै सर्वोच्चमा मंगलबार पेस भएको रिट सर्वोच्चले शुक्रबार दरपीठ गरेको हो । अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले पौडेललाई गभर्नर बनाउन नहुने भन्दै पेस गरेको रिटलाई सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरेका हुन् । समाचारमा आएको भरमा रिट दायर गरिएको भन्दै सर्वोच्चले पौडेलविरुद्धको रिट दरपिठ गरेको बुझिएको छ ।

राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर नियुक्त हुन नसक्ने र नेपाली कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकाले पौडेललाई गभर्नर बनाउन नहुने भन्दै रिट पेश गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर बनाउन सहमति भएको बताइएको छ । सो सहमति अनुसारनै पौडेलले गभर्नर सिफारिस समितिको विज्ञ सदस्यबाट राजीनामा दिएका थिए । उनको स्थानमा मन्त्रिपरिषदले डा। पोषण पाण्डेलाई विज्ञ सदस्यमा नियुक्ति समेत गरिसकेको छ ।

लोकप्रिय