परिवर्तित समाजमा हराउँदै मानवता, चुनौती बन्दै ‘एक्लोपन’

परिवर्तित समाजमा हराउँदै मानवता, चुनौती बन्दै ‘एक्लोपन’

हेमबहादुर राना (कमल) । समय गतिशिल र परिवर्तनशील छ र हुनुपर्छ पनि । तर गतिशिल भईरहँदा मावन समाज माथि आघात पुग्नु दुःखद् हो । पछिल्लो समय परिवर्तन त भएको छ तर, जसले समाज छिन्न बनिरहेको छ । मानिसमा एक्लोपन बढिरहेको छ । यसले समाजमा ठुलो समस्या सिर्जना भईरहेको छ । विकसित मुलुकमा जस्तै हाम्रो देशमा पनि सामाजिक भावना र अस्तित्वमाथि खतरा बढ्दै गईरहेको छ । जीवनशैली, दिनचर्यामा परिवर्तन भईरहँदा नकरात्मक समस्याहरु बढिरहेका छन् ।

उहिलेको समयमा कहीँ कतै जाँदै गर्दा दोस्रो व्यक्ति भेटेपछि आफूँ सुरक्षित भएको महसुस हुन्थ्यो रे । हिँड्दै गर्दा दुःख सुःखका कुरा हुन्थ्यो रे । एक पटक भेटिएको मान्छे सँधैभरीको साथी हुन्थ्यो रे । यो कुरा आजभोली कथा जस्तो लाग्छ । मेरा स्वर्गीय हजुरबुवा हिँडेर ११ पटक बटौलीमा नुन लिन जानुभएको रहेछ नुन लिन जाने आउने क्रममा भेटिएका झण्डै १४÷१५ जनासँग उहाँको जीवनको उत्तरार्धसम्म पनि राम्रो सम्बन्ध थियो । मलाई स्मरण छ, कहिले ती व्यक्तिहरु हाम्रो हजुरबालाई भेट्न घरमै आउनुहुन्थ्यो । कहिले हाम्रा बा उहाँहरुकै घरमा पुग्नुहुन्थ्यो । बाटोमा भेटिएका मान्छेसँग पनि खुब दोस्ती थियो त्यतिबेला ।

पहिले पहिले एक वा एक भन्दा बढी घर, टोल मिलेर एउटा समाज बनाइन्थ्यो । गाउँमा कसैलाई कसैको विवाह, पुजापाठ, भोजभतेर र मान्छे मर्दा, पर्दा समाजले नै सबै कुराको व्यवस्थापन गथ्र्यो । मान्छेहरु सामूहिकतामा विश्वास राख्थे । हाम्रो पनि त्यस्तै मिलेको समाज थियो । अर्मपर्म गर्ने चलन थियो । सबैभन्दा महत्वपूर्ण त सबै घरमा पशुपालन गर्नुपर्ने अनिवार्य गरिएको थियो ।

कुनै चाडपर्व आयो भने समाजभित्र जसको घरमा बध गर्न योग्य बंगुर, खसी, बोका छ त्यसलाई काटेर भागविलो लगाएर सबै घरले खाने चलन थियो । कसैको घरमा मोही पा¥यो भने सबैलाई बोलाएर बाँड्ने गरिन्थ्यो । कसैको घरमा दुःख विमार भयो भने गाउँभरीको सबै भेला भएर हस्पिटल लैजाने गरिन्थ्यो, कसैको घरमा झगडा भयो भने गाउँका सबै भेला भएर मिलाउने गरिन्थ्यो ।

हाम्रो गाउँमा एक जना सम्मानित व्यक्तित्व हुनुहुन्छ रामप्रसाद राना मगर । इन्डियन आर्मीको क्याप्टेनबाट रिटायर्ड भएर पनि गाउँ बनाउनुपर्छ भनेर सक्रिय राजनीति समेत गर्नुभएको थियो । २०५४ सालको स्थानीय तहको निर्वाचनमा किचनास गाविसको अध्यक्षमा लोकप्रिय मतका साथ विजयी हुनुभएको थियो । उहाँले आफ्नो गाउँ ठाउँका लागि धेरै गर्नुभएको छ ।

गाउँमा चेतनाको अभाव, गरिबी लगायत धेरै समस्याहरु थाती थिए । उहाँले चाहेको भए त्यतिबेला पोखरा, काठमाडौ जस्ता ठुला शहरहरुमा परिवार लिएर आनन्ददायी जीवन निर्वाह गर्न सक्नुहुन्थ्यो । उहाँले त्यसो गर्नुभएन् । छरछिमेक, इष्टमित्र लगायत सिंगो गाविसको हितमा लाग्नुभयो । त्यतिबेला गाउँका मान्छेसँग पैसा एकदमै कम हुने गर्दथ्यो । त्यसैले गाह्रो साह्रो पर्यो भने उनै क्याप्टेनसँग सापटी माग्न जानुपथ्र्यो । कुनै बेला त चाडपर्व मान्न पनि पैसा सापट लिनुपर्ने हुन्थ्यो । आफूँसँग सापट माग्न आउनेलाई सम्भवतः उहाँले कसैलाई पनि रित्तो हात फर्काउनुभएन होला । कतिले त सापट भनेर लिएको पैसा तिर्नै सकेनन् । समग्रमा उहाँको सहयोगलबाट सिंगो गाउँ लाभान्वित थियो ।

केही दिन अघि मेरो साथी बसन्त भण्डारी र म काठमाडौबाट स्याङ्गजा पुगेका थियौँ । कृषि भन्ने ठाउँमा जानु थियो, स्याङ्गजाको नागडाँडा त पुग्यौँ । अनि कृषि जाने बाटो सोध्नुपर्ने भयो । बाटोमा एक जना झण्डै ७५/८० वर्षको बुवा सडक छेऊमै घाँस काट्दै हुनुहुँदो रहेछ । मैले बुवालाई सोधेँ, ‘वुवा कृषि जाने बाटो कहाँबाट हो, कति समय लाग्ला ?’ यो प्रश्न खस्न नपाउँदै ती बृद्ध बुवाले नागडाँडा र कृषिको बीच बीचमा पुगिने ठाउँ र पुग्न लाग्ने समय सहित कृषि पुग्न २० मिनेट लाग्ने बताउनुभयो । नभन्दै हामी ठ्याक्कै २० मिनेटमा कृषि पुग्यौँ । पहिलेका मानिसमा कति धेरै सहयोगी भावना छ र थियो भन्ने कुरा यिनै कुराबाट प्रष्ट हुन्छ ।

अहिलेका मान्छेमा भने ठ्याक्कै उल्टो पाइने गरेको छ । केही दिन अगाडि काठमाडौको विजुलीबजारको पुलमुनि दुई सवारी चालकबीच सामान्य विवाद हुँदा हानाहान भयो । वरपर हेर्दा झण्डै २०/३० जनाले मोबाइल तेस्याईरहेका थिए । एक जना महिला भने चिच्चाउँदै थिइन्, ‘मान्छे मर्न लागिसक्यो छुट्याउन सहयोग गर्नु न ?’ तर, सबैले रमिता हेरिरहे कोही कुटाकुट गर्ने व्यक्तिहरुलाई छुट्याउन आएनन् ।

मानव सभ्यताको इतिहास हेर्ने हो भने व्यक्ति–व्यक्ति मिलेर परिवार, परिवार–परिवार मिलेर समाज र समाज समाज मिलेर मुलुक बनेको छ । तर, पछिल्लो समय मानिसहरु मानव सम्यता र विकासक्रमलाई चुनौती दिने खालका व्यवहार देखाउने गरेका छन् । मानिसहरु समूहमा भन्दा एक्लै बस्न रुचाउँछन् । मानिसहरु एकअर्काबीच छलफल, बहस गर्नुभन्दा सामाजिक सञ्जालमा तल्लिन हुने देखिन्छ ।

मैले हालै मात्र एक समाचार पढेको थिएँ । जापानमा एक्लोपनका कारण एक वर्षमा ४ हजार मानिसले ज्यान गुमाएका छन् । जापानमा मानिसहरु काम र पैसा भन्दा अरु केही पनि देखेका हुँदैनन् । फलस्वरुप एक्लोपनको शिकार बनिरहेका छन् । यो क्रम विश्वभर फैलिएको छ । मानिस एक्लिन थालेका छन् तर, मानिस एक्लै कहिले पनि पूर्ण हुन सक्दैन । एक्लोपनका कारण स्वयम् व्यक्ति र समाज निर्माणमा समेत विकराल समस्या आउने देखिन्छ ।

पछिल्लो समय विद्यार्थीहरुले पढ्ने पुस्तकहरुमा त सामाजिक भावना उत्प्रेरित गर्ने खालका निकै राम्रा र गहकिला विषयबस्तुहरु समेटिएका छन् । सामाजिक उत्तरदायित्व र सामाजिक भावना, सामूहिकता जगाउने पाठ्यसामाग्री छन् । तर, मानिसमा पाठ्यपुस्तकको प्रभाव परेको देखिँदैन । आखिर किन ? हामीले देख्न सक्छौँ आजका मानिसमा मानवियता मर्दै गएको छ । सामाजिक उत्तरदायित्व विर्सिएका छन् । मानिसमा इमान्दारिता छैन । सामूहिकतामा विश्वास गर्दैनन् । यस्तो प्रवृत्तिले मानव सम्भतालाई कहिलेसम्म टिकाउला ? गम्भीर प्रश्न खडा भएको छ ।

 

 

लोकप्रिय