समृद्धिको वर्ष बनोस् २०८२ (सम्पादकीय)
आजबाट नववर्ष २०८२ लाई स्वागत गरेका छौँ । नेपालमा प्रत्येक वैशाख १ गतेलाई नयाँ वर्षको रुपमा मनाइने गर्दछ । यो सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुहुनु सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै देशले समेत मुहार फेरियोस् भन्ने कामना गर्दछौँ ।
पछिल्लो समय नेपाली जनता उकुस मुकुसको अवस्थामा रहेका छ । राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेथिति मात्र होइन नातावाद, कृपावाद र राजनीतिक नेतृत्वको स्वच्छाचारिताले बढ्दो छ । माथिल्लो तहसम्म पहुँच नहुनेले राज्यबाट नत सेवा पाउन सकेका छन् नत अवसर । युवाले रोजगार पाउन सकेका छैनन् भने बजारमा महंगी बढिरहेको छ । रोजगारका लागि युवाहरु विदेशिने क्रम बढ्दो गाउँमा मलामी जाने मान्छे समेत छैनन् । २०८१ ले यी तमाम समस्याहरु २०८२ लाई जिम्मा दिएर गएको छ ।
नेपाली जनताले शान्तिको कामना गरेका छन्, राजनीतिक स्थिरता चाहेका छन्, सुशासन चाहेका छन्, विकास र समृद्धि चाहेका छन्, राज्यका हरेक निकाय, तह र तप्कामा समावेशी र समानुपातिक सहभागिता चाहेका छन् । मानव जातिको नैसर्गिक अधिकार गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार, शुद्ध खानेपानी जाहेका छन् । शान्ति सुरक्षा चाहेका छन् । नेपालमा गणतन्त्र स्थापना भएको लामो समयसम्म पनि जनतामा तमाम इच्छा चाहनाहरु पूरा हुन सकेका छैनन् । त्यसोत पछिल्लो समय राजनीतिक अस्थिरताका कारण मुलुक भद्रगोल बन्न पुगेको छ । प्रत्येक वर्ष ठुला ठुला प्राकृत्तिक विपत्तिको सामना गर्नुपरेको छ । मुलुकका हित नचाहने तत्वहरु सल्बलाइ रहेका छन् । नेपाली जनताको इच्छा र चाहना विपरित केही अराजक तत्वलहरुले राजतन्त्रको वकालत गर्न थालेका छन् । देशभरका शिक्षकहरु आन्दोलित बन्न पुगेका छन् । कालाबजारी, विचौलिया, भ्रष्टाचारी, माफिया, दलालहरुले फाइदा लुटिरहेका छन् ।
पछिल्लो समय पत्रकारिता क्षेत्र समेत निकै संकटमा पर्न थालेको छ । लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि दलहरुसँगै संघर्ष गरेका पत्रपत्रिकाहरु यतिबेला जीवन मरणको दोसाँधमा पुगेका छन् । युटुब लगायत न्यू मिडियाहरुले आम सञ्चार क्षेत्रको धज्जी उडाइरहेको छ । त्यसैगरी पत्रकार असुरक्षा उस्तै छ । यही चैत्र १५ गते तिनकुनेमा राजा ल्याउने बहानामा गरिएको हिंसामा परी एभीन्यूज टिभीका फोटो पत्रकार सुरेश रजकलाई ज्युँदै आगो लगाएर हत्या गरियो । कान्तिपुर दैनिक र अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा तोडफोड र आगजनी भयो भने कयौं पत्रकारहरुमाथि कुटपिट हुन पुग्यो । यस्ता खालका सुरक्षा चुनौती पत्रकार र आम सञ्चार क्षेत्रमाथि रहेको छ । नववर्ष २०८२ को शुभ अवसरमा मुलुकमा रहेका यावत् समस्याको समाधानका लागि बाटो खुलोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ ।


प्रतिकृया दिनुहोस्