April 20, 2021, Tuesday
२०७८ बैशाख ७

सहकारीलाई एशियाली स्तरकाे एक्सेस ब्राण्ड दिन आर्थिक चलखेल गरेकाे आरोप बारे नेफ्स्कून किन माैन ?

सहकारीलाई एशियाली स्तरकाे एक्सेस ब्राण्ड दिन आर्थिक चलखेल गरेकाे आरोप बारे नेफ्स्कून किन माैन ?

काठमाडौं । दोलखाको सदरमुकाम चरिकोटमा संचालनमा रहेको एशियाली गुणस्तर एक्सेस ब्राण्ड प्राप्त भनिएको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था भित्र करौडौको घोटाला भएको खवर सेलाउन नपाउदै उक्त संस्थालाई ‘एक्सेस ब्राण्ड’ वितरणमा आर्थिक चलखेल भएको विषयमा सहकारी नियामक केन्द्रीय निकाय संघिय सहकारी विभागले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) सँग स्पष्टिकरण सोधेको खबरले मुलुकको समग्र सहकारी क्षेत्र तरंंगित भएको छ ।

एकिकरण हुनुपर्ब तत्कालीन मिलिजुली सहकारी संस्थालाई एशियाली ऋण महासंघ आकु मार्फत एक्सेस ब्राण्ड प्रदान गर्दा र मिलिजुलीका प्रमुख कार्यकारी अधिकृतलाई उत्कृष्ट व्यवस्थापकको पुरस्कार दिँदा आर्थिक चलखेल भएको समाचार प्रकाशित भएपछि विभागले १५ दिने समय दिएर स्पष्टिकरण सोधेको बताइन्छ ।

विभागले सोमबार नेफ्स्कूनलाई पत्र पठाएर मिलिजुली कालिञ्चोक सहकारी संस्थालाई एक्सेस ब्राण्ड दिदा आर्थिक अपचलन भएको र प्रमुख कार्यकारी अधिकृतलाई उत्कृष्ट व्यवस्थापकको पुरस्कार दिदा संघका उच्च व्यवस्थापकद्धारा आर्थिक चलखेल भएको विषयमा समाचार सार्वजनिक भएको भन्दै त्यसबारे यथार्थ जानकारी गराउन निर्देशन गरेको छ ।


यसैगरी विभागले मिलिजुली कालीञ्चोक सहकारी संस्थालाई समेत बचत तथा ऋण कारोबारमा अपचलन भएको, संस्थाको आन्तरिक नियन्त्रण र सुशासन प्रणाली खस्कीएको, विना धितो कर्जा प्रवाह गरेको, नियम वितरित सेवाशुल्क लिएको, एक्ससेस ब्राण्ड र उत्कृष्ट व्यवस्थापकको पुरस्कार लिन आर्थिक चलखेल गरेको, संस्था एकिकरण गर्दा अनियमितता गरेकोलगायतका विषयमा स्पष्टिकरण सोधेको छ ।

दैनिक नेपाल अनलाईनले शनिबार मिलिजुली कालिञ्चोक सहकारीमा भएको अनियमितताको विषयमा समाचार प्रकाशित गरेको थियो । समाचारमा सहकारीमा करोडौं रूपैयाँ अपचलन गरेको, संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) ईश्वर न्यौपानेले योजनाबद्ध ढंगले संस्थामा वर्षौंदेखि आन्तरिक लुट मच्चाएको आरोप लगाइएको छ ।

यस्तै एक्सेस ब्राण्ड लिन योग्यता नपुग्दै सीईओ न्यौपानेले नेफ्सकुनका अधिकारीलाई २० लाख रूपैयाँ घुस खुवाएको र उनीहरूकै सहयोगमा छलछाम गर्दै सबै सूचक पूरा गराइ ब्राण्ड किनेको, संस्थाहरू एकीकरण गर्दा ती संस्थाका सञ्चालकलाई मोटो रकम दिई प्रलोभनमा पारी एकीकरणको घोषणा गर्ने गरेको, संस्थाको स्रोतसाधन दुरुपयोग गरेको, सहकारी मन्त्री र सहकारी विभागका रजिष्ट्रारलाई समेत आर्थिक प्रलोभनमा पार्ने गरेको, नेफ्स्कूनले न्यौपानेलाई पुरस्कृत गर्दा उच्च तहका कर्मचारी दुर्गा ढकाल र शिवजी सापकोटालाई राम्रै पैसा खुवाएको समाचारमा उल्लेख गरिएको छ ।

यसै सन्दर्भमा कालिञ्चोक सहकारीले करोडौ रुपैयाँ घोटाला भएको खुलासा शिर्षकमा प्रकाशन भएको समाचार प्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ । सहकारीले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा केहि सञ्चारमाध्यमबाट प्रकाशन भएको उक्त समाचार प्रति गम्भिर ध्यानकर्षण भएको जनाउदै संस्थाले जारी गरेको प्रेश विज्ञप्तिमा प्रकाशित समाचार कुनै पनि सञ्चालक समिति र कर्मचारीलाई नसोधि कपोलकल्पित र भ्रमपूर्ण भएको उल्लेख छ ।

संस्थाबाट ऋण लगानी गर्दा व्यवसाय गर्ने सदस्यहरु सँग मोटो रकम लिएर मात्रै ऋण पास गर्ने, लेनदेन मिलेपछि पर्याप्त मात्रामा धितो नलिने र धितोवालाको मन्जुरी बिना नै ऋण लगानी गर्ने विषय समाचारमा उल्लेख गरेको पाइएपनि संस्थाले संघिय सहकारी ऐन नियमावली, संस्थाको साधारण सभाको निणर्य, संस्थाको ऋण निती र संचालक समितिको निणर्य अनुसार ऋण लगानी गरेको उल्लेख छ ।

यस अघि जिल्ला बचत तथा ऋण सहकारी संघ दोलखाले भने समाचारमा उल्लेख गरेको विषयमा संस्थाका कुनै पदाधिकारीले प्रतिक्रिया नदिएको भन्दै मिलिजुली कालिन्चोक सहकारीकाे बारे संचार माध्यमबाट बाहिर आएको खवर सम्वन्धमा धारणा राख्न दवाब दिदै विज्ञप्ती जारी गरेपछि संस्थाले प्रैस सम्मेलन गरी बिज्ञप्ति मार्फत आफनो धारणा राखेको हो । जहाँ सम्म एक्सेस ब्राण्ड दिलाउँदा आर्थिक अपचलन भएको सम्वन्धमा आरोपित नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकुन)ले अहिले सम्म कुनै प्रतिक्रिया व्यक्त गरेको छैन ।

भर्खरै

लोकप्रिय