अंकित मूल्यभन्दा कम नेटवर्थ भएका यी कम्पनीकाे शेयर काराेबारमा बन्देज लाग्न सक्ने

अंकित मूल्यभन्दा कम नेटवर्थ भएका यी कम्पनीकाे शेयर काराेबारमा बन्देज लाग्न सक्ने

काठमाडाै भदाै २९ । नेपालकाे शेयर बजारमा सूचीकृत कम्पनीहरुमध्ये अंकित मूल्यभन्दा कम प्रतिशेयर नेटवर्थ भएका कम्पनीलाई धितोपत्रको दोस्रो बजारमा कारोबार बन्देज लगाउनुपर्ने व्यवस्था गनुपर्ने जाेडदार माग सहितकाे आवाज सरोकारवालहरुले उठाएका छन् ।

कम्पनीकाे अंकित मूल्यभन्दा कम अर्थात नेगेटिभ (नकारात्मक) नेटवर्थ  भएका कम्पनीहरुको नेटवर्थ नकारात्मक रहँदासम्म धिताेपत्र बजारमा नै शेयर किनबेच गर्न बन्देज लगाउनुपर्ने व्यवस्था गनुपर्ने आवश्यकता देखिएको उनीहरुको भनाई छ ।

अहिले धितोपत्रको दोस्रो बजारमा सूचीकृत करिब दुई दर्जन कम्पनीहरुको प्रतिशेयर नेटवर्थ अंकित मूल्यभन्दा कम रहेको देखिन्छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार करिब दुई दर्जन कम्पनीहरुको नेटवर्थ अंकित मूल्य (एक सय रुपैयाँ) भन्दा कम छ । जसमा अधिकांश जलविद्युत समूहका कम्पनीहरु रहेका छन् ।

नेगेटिभ नेटवर्थ भएका कम्पनीले सार्वजनिक निष्काशनको अनुमति समेत नपाउने व्यवस्था छ । कतिपय कम्पनीहरुको आईपीओ निष्काशन अघि सकारात्मक रहेको नेटवर्थ खराब पफमेन्सका कारण पछि गएर अंकित मूल्यभन्दा तल झर्ने गरेको समेत भएको पाइन्छ ।

दुई दर्जन कम्पनीको नेटवर्थ नकारात्मक

गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणका आधारमा नेप्सेमा सूचीकृत झण्डै दुई दर्जन कम्पनीको नेटवर्थ अंकित मूल्यभन्दा नकारात्मक देखिन्छ । तिमध्ये अधिकांश जलविद्युत कम्पनीका रहेका छन् । १६ जलविद्युत कम्पनीको नेटवर्थ एक सय रुपैयाँभन्दा कम छ ।

गत आवको अपरिष्कृत वित्तीय विवरणका आधारमा नारायणी डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, घोडीघोडा लघुवित्त, र होटल तथा पर्यटन समूहमा रहेको चन्द्रागिरी हिल्सको नेटवर्थ पनि नकारात्मक रहेको छ । एक सय रुपैयाँ मात्र नेटवर्थ हुने कम्पनीको संख्या चार रहेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्मको वित्तीय विवरण अनुसार सबैभन्दा कम दिव्यश्वरी हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ २२.२१ रुपैयाँ नकारात्मक छ । नारायाणी विकास बैंक सहित छ कम्पनीको नेटवर्थ ७५ रुपैयाँ भन्दा कम छ भने अन्य १४ कम्पनीको नेटवर्थ ८० देखि १०० रुपैयाँको बीचमा रहेको छ । तलको तालिकामा गत आवको चौथो त्रैमासिक वित्तीय विवरणका आधारमा कम्पनीहरुको नेटवर्थ र भदौ २८ गते सोमबारको शेयरमूल्य प्रस्तुत गरिएको छ ।

कानुनमा के छ व्यवस्था ?

विद्युत सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्काशनको पूर्व स्वीकृति सबन्धी निर्देशिका २०७६ मा पनि आईपीओ जारी गर्न चाहने निवेदक कम्पनीको खुद सम्पत्ति ऋणात्मक नभएको हुनुपर्ने उल्लेख छ ।

शेयर बजारका जानकारहरुले अंकित मूल्यभन्दा नकारात्मक नेटवर्थ भएका कम्पनीहरुले आईपीओ निष्काशन गर्न नपाए जस्तै एक सय रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीहरुको शेयर किनबेचमा समेत प्रतिबन्ध लगाउनुपर्ने आवश्यकता औल्याउन थालेका हुन् ।

शेयर बजारका विज्ञ अमृत खरेलले अंकित मूल्यभन्दा नेगेटिभ नेटवर्थ भएका नेप्सेमा सूचीकृत कम्पनीहरूको नेटवर्थ कम्तीमा एक सय रुपैयाँसम्म नआइपुग्दासम्म कारोबार स्थगन गर्नुपर्ने बताउँछन् । यसो भएमा स्वस्थ ढंगले बजार विकास र विस्तार हुन सक्ने र लगानीकर्ता फस्ने फसाइने सम्भावना पनि स्वतः न्यून हुने उनको तर्क छ । यसतर्फ धितोपत्र बोर्ड र नेप्सेको ध्यान जानुपर्छ, खरेलले भने ।

त्यस्तै पूँजी बजार विकास अभियानका संयोजक एंवम लगानीकर्ता तिलक कोइरालाले नेगेटिभ नेटवर्थ भएका कम्पनीहरुको ओटीसी मार्केट मार्फत मात्रै कारोबार गराउने व्यवस्था गर्नुपर्ने बताउँछन् । शेयर लगानीकर्ताहरुले आफुसँग भएको शेयर किनबेच मै बन्देज लगाउनु हुँदैन्, आफुसँग भएको शेयर किनबेच गर्न पाउने लगानीकर्ताको अधिकार हो । नेगेटिभ नेटवर्थ भएका कम्पनीहरुलाई बजारमा छाडा छोडेर माग र आपूर्तिको आधारमा मात्रै खेलाडीहरुलाई खेल्न दिदा यसले पूँजी बजारलाई नै रोगी बनाउने सम्भावना हुन्छ । साथै सर्वसाधारण लगानीकर्ताको लगानी जोखिममा पर्नसक्छ ।

के भन्छन् नियामक ?

 

धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश श्रेष्ठले अहिलेको बजार सञ्चालन सम्बन्धी कानुनी आधारहरु नियामावली, निर्देशिका हेर्दाखेरी अंकित मूल्यभन्दा कम नेटवर्थ भएका कम्पनीहरुलाई के गर्ने ? भनेर उल्लेख गरेको छैन । ‘हामीले आईपीओ निष्काशन गर्दाखेरी नै धितोपत्र दर्ता निष्काशन नियामावलीमा भएको मापदण्ड पूरा भएपछि हामीले दिएको ढाँचा अनुसार विवरण पत्र प्रकाशित गर्न लगाउँछौँ । तर, अंकित मूल्यभन्दा नकारात्मक नेटवर्थ भएका कम्पनीहरुको शेयर कारोबार रोक्नुपर्छ भन्ने कहिँ कतै लेखिएको छैन । भोलि त्यस्तो व्यवस्था भएमा गर्न सकिएला ।’ उनले भने ।

यता नेपाल स्टक एक्सेचञ्ज कामु सीईओ निरन्जन फुँयाल प्रतिशेयर नेटवर्थ अंकित मूल्यभन्दा नकारात्मक भएकै आधारमा मात्र शेयर कारोबार रोक्का गर्न नमिल्ने बताउँछन् । कमजोर कम्पनीहरुलाई शेयर बजारमा आउनै दिनुहुँदैन । आइसकेका कम्पनीहरु कहिले नाफामा जालान् कहिले घाटामा जालान् कमजोर वित्तीय विवरणकै आधारमा कारोबार रोक्का गर्न मिल्दैन । सूचीकृत कम्पनीहरुमा हजारौं लगानीकर्ताहरुले लगानी गरेका हुन्छन् । कम्पनीलाई कारबाही गर्दा लगानीकर्ता मारमा पर्नु भएन । आईपीओ निष्काशन गर्न दिने वा नलिने धितोपत्र बोर्डको कुरा हो । तर बजारमा सूचीकृत भइसकेका कम्पनीहरुको कारोबार रोक्ने भन्ने हुँदैन, यस्तो व्यवस्था संसारभर नभएको उनको तर्क छ ।

‘कम्पनीको अंकित मूल्यभन्दा नेटवर्थ नकारात्मक हुँदा शेयर मूल्य पनि त कम हुन्छ, यो लगानीकर्ताले ख्याल गर्नुपर्ने कुरा हो, नियामकले नि समय समयमा सचेत गराउँदै आएको छ । हाम्रो काम लगानीकर्तालाई सुसूचित गराउने हो, कम्पनीहरुको वित्तीय अवस्था हेरेर मात्र लगानी गर भन्ने हो, लगानीकर्ताहरुले लगानी पूर्व अध्ययन गर्न जरुरी छ।’ उनले भने ।

शेयर लगानीकर्ता कोइरालाका अनुसार नेगेटिभ नेटवर्थ भएका कम्पनीको पूँजी कम छ, सर्वसाधरणमा जारी गरेको शेयर संख्या थोरै हुन्छ । यस्ता कम्पनीहरुको शेयर धितोमा राखेर बैंकहरुले कर्जा दिँदैनन्, यस्ता कम्पनीहरुको मुल्य घटेपनि लाभांश दिने सम्भावन पनि हुँदैन्, कतिखेर टाट पल्टिएर खारेजीमा जान्छन् भन्ने ठेगाना हुँदैन, सुधारिएको खण्डमा पनि लाभांश दिने क्षमता बनाउने बर्षौ लाग्नसक्छ यसकारण यस्ता कम्पनीहरुलाई नियमित बजारमा कारोबार गराउन नहुने उनको तर्क छ ।

शेयर विज्ञ खरेल भने धितोपत्र बोर्ड तथा नेप्सेले यस्ता नियामावली संशोधन गरेर भए पनि सर्वसाधारणको सम्पतिको सुरक्षाका लागि अंकित मूल्यभन्दा नेटवर्थ नकारात्मक भएका कम्पनीहरुको कारोबार रोक्का गर्नुपर्ने तर्क गर्छन् ।विदेशी बजारमा पनि यसप्रकारको अभ्यास रहेको उनको भनाई छ । कम्पनीको नेटवर्थ अंकित मूल्यभन्दा कम हुनु भनेको शेयरधनीले उल्टै पैसा थप्नु भनेको हो । नाजुक कम्पनी भनेर कम्पनीहरुको सूची निकाल्नसक्ने धितोपत्र बोर्डले त्यस्ता कम्पनीहरुको कारोबार रोक्का गर्न सक्नुपर्छ । कमजोर कम्पनी भन्ने अनि कारोबार पनि गर्न दिइरहने यस्तो त हुनु भएन नी, खरेलले भने । नियामवलीमा छैन भनेर बोर्ड तर्कन मिल्दैन, बोर्डले समय सापेक्ष नियमावलीहरुका सुधार गर्दै लैजानुपर्ने उनको भनाई छ ।

प्रतिशेयर नेटवर्थ भनेको के हो र कसरी गणना गरिन्छ ?

कम्पनीको चुक्ता पूँजी र सम्पूर्ण जगेडाहरुको जोड नै कम्पनीको नेटवर्थ (खुद मूल्य अथवा किताबी मूल्य) हो । कुल नेटवर्थलाई कम्पनीको कुल शेयर संख्याले भाग गरेमा कम्पनीको प्रतिशेयर नेटवर्थ वा शेयरको किताबी मूल्य प्राप्त हुन्छ ।

नेटवर्थलाई कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाउँदा बाँकी रहने शेषका रुपमा पनि बुझ्न सकिन्छ । दोस्रो बजारमा कारोबार गर्दा कम्पनीको शेयरको किताबी मूल्य र बजार मूल्यबीच तुलना गरेर खरिद बिक्रीको निर्णय गर्नु राम्रो मानिन्छ ।

लोकप्रिय