चाँगुनारायण नगरपालिकाको बजेट पारित : यसरी भयो बाँडफाँड

चाँगुनारायण नगरपालिकाको बजेट पारित : यसरी भयो बाँडफाँड

 

काठमाडौ । चाँगुनारायण नगरपालिकाको नवौं नगरसभाबाट आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि प्रस्तुत बजेट पारित गरेको छ । बजेटमा पूँजीगततर्फ १ अर्ब २४ करोड २ लाख ७४ हजार सात सय चौवन्न रुपैँया अर्थात ६५.०५ प्रतिशत र चालूतर्फ ६६ करोड ६२ लाख नौ हजार पाँच सय रुपैँया अर्थात ३४.०५ प्रतिशत विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको आन्तरिक आयको प्रमुख श्रोतको रुपमा रहेको व्यवसाय, रजिष्ट्रेसन, सिफारिश, माटो, पानी, ठेक्का, घर नक्सा पास रहेका छन् । यी दस्तुरबाट २८ करोड ८४ लाख ५ हजार आन्तरिक आय अनुमान रहेको नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीले बताउनुभयो ।
त्यसैगरी वित्तीय समानीकरण अनुदानतर्फ संघीय सरकारबाट रु १७ करोड ४५ लाख र सशर्तबाट रु ३३ करोड ३ लाख प्राप्त भएको समेत नगरपालिकाले जनाएको छ । राजश्व बाँडफाडबाट रु ८ करोड ९३ लाख ५३ हजार र सबारी साधनको राजश्व बाँडफाँडबाट ६ करोड दुई लाख सत्ताईस हजार प्राप्त अधिकारीले जानकारी गराउनुभयो ।
यसबीच, चाँगुनारायण नगरपालिकाको नगर कार्यपालिकाको आफ्नै भवन निर्माण लागि १२ करोड विनियोजन गरेको छ । आगामी वर्षको समयावधिमा सम्पन्न हुने सो नयाँ भवनबाटै सेवा प्रबाह हुने जानकारी समेत नगरपालिकाले गराएको छ । नगरसभाले भौतिक पूर्वाधारतर्फ सडक तथा पुल निर्माणका लागि ५५ करोड ३६ लाख ६५ हजार ७६ हजार विनियोजन गरेको छ ।
त्यसैगरी नगरमै रहेका बेरोजगार युवाहरुलाई लक्षित गरी मेयर उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत यूवाको सम्बद्र्धन उद्यमशीलता प्रर्बद्धन कार्यक्रमका लागि रु ३ करोड निरन्तरता दिएको छ । नगरभित्रका मुख्य–मुख्य सडकमा बिजुली बत्तीको व्यवस्थापन गर्न यसबर्ष रु पैसठ्ठी लाख विनियोजन गरिएको नगरपालिकाले जानकारी गराएको छ ।
चाँगुनारायण नगरपालिकाको सडक तथा यातायात क्षेत्रको विकासका लागि सडकको निर्माण, स्तरोन्नति तथा कालोपत्रे, ढलानका लागि वडागत योजना तथा ठूला पूर्वाधारसहित ८० करोड ८४ लाख ५६ हजार दुई सय चौरानब्बे विनियोजन गरेको छ । एक घर, एक धारा कार्यक्रम अन्तर्गत नगरबासीहरुको खानेपानीमा पहुँच सुनिश्चित गर्न खानेपानीमा रु १३ करोड ९३ लाख ८१ हजार आठ सय छयालिस विनियोजन गरिएको छ ।
त्यसैगरी सामुदायिक विद्यालयमा छात्राहरुको शिक्षा, बालविवाह निरुत्साहन र किशोरीहरुको सुरक्षित भविष्य निर्माणमा सहयोगका लागि बचत खाता छोरीको, सुरक्षा जीवन भरीको कार्यक्रममा रु पच्पन्न लाख र प्राविधिक शिक्षालाई प्रोत्साहन, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षामा कुल ३ करोड २८ लाख सत्तरी हजार बजेट विनियोजन गरिएको छ ।
यसै आर्थिक वर्षमा मेड इन चाँगु, फ्री वाइफाई, मेट्रिक सिस्टम हाउस नम्बरिङ्ग, नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन लगायतल जनमुखि कार्यक्रम बजेटमा राखिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो ।

लोकप्रिय