पोखरा पुगे महासचिव गुटेरेस, नेपाली ढाकाटोपीले स्वागत

पोखरा पुगे महासचिव गुटेरेस, नेपाली ढाकाटोपीले स्वागत

पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस सोमबार दिउँसो पोखरा पुगेका छन् । उनी नेपाली सेनाको जहाजमार्फत पोखरा अवतरण गरेका हुन् ।

गुटरेसलाई पोखरा विमानस्थलमा भव्य स्वागत गरिएको छ । महासचिव गुटरेसको स्वागतका लागि विभिन्न सामाजिक संघ संस्था र सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू नेपालको राष्ट्रिय झण्डा, युएनको झण्डा र विभिन्न किसिमका मौलिक बाजासहित उपस्थित भएका थिए ।

गुटरसलाई स्वागत गर्न गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहित पोखरा महानगरका मेयर धनराज आचार्य लगायत विमानस्थल पुगेका थिए । उनलाई मेयर आचार्यले नेपाली ढाकाटोपी समेत पहिर्याइदिएका थिए । उनले आज फिष्टेल लजमा रात बिताउने छन्, भने मंगलवार बिहान अन्नपूर्ण बेसक्याम्प जानेछन् ।

चार दिने नेपाल भ्रमणको सिलसिलामा उनी आइतबार नेपाल आएका हुन् । नेपाल आइपुगेकै दिन उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउद लगायतसँग भेटवार्ता गरिसकेका छन् ।

यस्तै उनले पाटनको भ्रमण पनि आइतबार नै गरेका थिए । आज बिहान सगरमाथा क्षेत्रको भ्रमणपछि उनी पोखरा पुगेका हुन् ।

लोकप्रिय