बजेटमा सिद्धार्थ र कर्णाली राजमार्ग किन प्राथमिकतामा परेन : पूर्वमन्त्री अर्याल

बजेटमा सिद्धार्थ र कर्णाली राजमार्ग किन प्राथमिकतामा परेन : पूर्वमन्त्री अर्याल

 

काठमाडौं । नेकपा एमालेकी सचिव तथा सांसद पद्मा कुमारी अर्यालले बजेटमा सिद्धार्थ राजमार्ग र कर्णाली राजमार्ग प्राथमिकता नपरेको भन्दै सरकारलाई त्यसको कारण सोधेकी छिन् ।

आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित बजेटमाथी बिहीबार प्रतिनिधिसभाको छलफलमा सहभागी हुँदै अर्यालले त्यस्तो बताएकी थिइन् ।

गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने सिद्धार्थ राजमार्ग र कर्णाली कोहरपुर राजमार्ग सरकारको प्राथमिकतामा पर्न नसकेको भन्दै पूर्व मन्त्री समेत रहेकी अर्यालले यस्तो महत्वपुर्ण राजमार्ग प्राथमिकतामा नपर्नुको जवाफ मागेकी थिइन् ।

उनले भनिन्, ‘सिद्धार्थ राजमार्ग जसले पोखरा र लुम्बिनी जोड्छ । कर्णाली जोड्ने कोहलपुर राजमार्गलाई विगत सरकारले प्राथमिकतामा राखेको थियो । तर यो सरकारको प्राथमिकतामा नपर्नुको कारण के हो ? यसको जवाफ चाहियो ।’ सरकारले आगामी आवका लागि ल्याएको बजेटमा सिद्धार्थ राजमार्ग, कोहलपुर राजमार्ग नपरेको भन्दै ती आयोजना किन नअटेको भन्दै प्रश्न गरेकी थिइन् ।

उक्त सडकको स्तरउन्नती गरेर २ घण्टा ३० मिनेटमा पोखराबाट बुटवल पुग्ने सकिने परिकल्पना गरेको स्मरण गर्दै नेता अर्यालले सिद्धार्थ राजमार्गका निम्ती आएको पैसा कता हालिएको छ भनेर प्रश्न गरेकी थिइन् । ‘घुम्तीहरूमा टनेल निर्माण गर्ने । मोडहरू कटिङ गर्ने मिलाउने । भूक्ष्य नियन्त्रणको निम्ती पर्खालहरू लगाउने ।

अहिले भइरहेको किलोमिटर घटाएर २ घण्टा ३० मिनेटमा पोखराबाट बुटवल पुग्न सकिनेगरि सिद्धार्थ राजमार्गको स्तरउन्नती गर्नेगरी विगत सरकारले परिकल्पना गरेको थियो’, उनले भनिन्, ‘डिपिआर पनि त्यही खालको तयारी गरेको छ । बजेटको सुनिश्चितताको निम्ती जापान बजेटरी सपोर्ट भनेर रातो बुकमा लेखेको छ । पैसा पनि आएको छ । अर्थमन्त्रालयले सम्झौता पनि गरिसकेको छ । तर त्यहाँ काम भएको छैन यो पैसा कहाँ गएको ? किन यसो गरिएको छ ? त्यहाँका निम्ती आएको पैसा त्यहाँ खर्च नगरेर अन्त गरियो यसको स्पष्ट जवाफ चाहियो ।’ उक्त आयोजनालाई अगाडि बढाउनेगरि सरकारले सोच्नुपर्ने भन्दै अर्यालले तुरुन्त काम अगाडि बढाउन आग्रह गरिन् ।

आँधिखोला जलविद्युत परियोजनालाई अगाडि बढाउनेतर्फ सोच्न सरकारलाई आग्रह गर्दै उनले हालसम्म भएका सम्भाव्यता अध्ययनको अवस्थाका बारेमा समेत चासो राखेकी थिइन् । ‘विगत ३ वटा आर्थिक वर्षदेखि आँधिखोला जलविद्युत परियोजनाको सम्भाव्यता अध्ययन डिजाइन सर्भे भनेर लगातार पैसा परिरहेको छ ।

आँधिखोलालाई दुहुनो गाइ नबनाइयोस्’, उनी भन्छिन्, ‘सालै पिच्छे पैसा हाल्याछ सम्भाव्यता अध्ययन भनेको छ छोडेको छ । मान्छेहरू अलपत्र छन् । आफ्ना जग्गाहरू ठिक ढंगले सदुपयोग गर्न पाएको छैन । वस्ती निर्माणका निम्ती अन्यौलतामा जनता छन् ।

अहिलेसम्मको सम्भाव्यता अध्ययनको नतिजा के हो ? हुन्छ भने हुन्छ हुन्न भने हुन्न । किन जनतालाई अन्यौलमा राखेको ? त्यो कामलाई अगाडि बढाउनेगरी यो सरकारले सोचोस् ।’ नेता अर्यालले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट ‘गफैत हो नी सम्धी’ भनेजस्तो भएको बताइन् । सरकारले आगामी आवका लागि बजेट विनियोजन गर्दा योजना नै नभएका क्षेत्रमा बजेट विनियोजन गरेको तर्क गरिन । बजेट पुर्वाग्रह पूर्ण भएको उनले बजेटले आजको अर्थतन्त्रको समस्यालाई बोध गर्न नसकेको टिप्पणी गरिन् ।

लोकप्रिय