April 20, 2021, Tuesday
२०७८ बैशाख ७

उत्कृष्ट काम गर्ने सहकारी पुरस्कृत

उत्कृष्ट काम गर्ने सहकारी पुरस्कृत

बागलुङ-राष्ट्रिय सहकारी बैंकले नवलपुरका दुई सहकारी संस्थाहरूलाई पुरस्कृत गरेको छ ।

आर्थिक वर्ष २०७५-०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरूलाई सोमबार एक कार्यक्रमका बीच पुरस्कृत गरिएको हो ।

बैंकको कावासोती शाखामा उत्कृष्ट कारोबार गर्ने अमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नियमित कारोबार गर्ने नव त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको हो ।

अमर साकोसका अध्यक्ष प्रजापति कँडेल र नव त्रिवेणी साकोसका अध्यक्ष घनश्याम चापागाईंलाई राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जीसीले सम्मानपत्रसहित पुरस्कृत गर्नुभएको थियो ।

सहकारी बैंकले केन्द्रीयस्तर, प्रदेशस्तर र शाखास्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरूलाई पुरस्कृत गर्दै आएको छ ।

१६ औं वार्षिक साधारणसभामा शाखास्तरीय पुरस्कारका लागि छनोट भएका संस्थालाई कोरोना संक्रमणका कारण ढिला पुरस्कृत गरिएको बैंकले जनाएको छ ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै बैंकका सञ्चालक जीसीले सहकारीहरूको संस्थागत विकास, वित्तीय व्यवस्थापन, नेतृत्व तथा क्षमता विकासका लागि बैंक सहयोगीका रूपमा रहेकाले सहकारीहरूलाई बैंकसँग कारोबार तथा अन्य क्षेत्रमा समेत सहकार्य गर्न आव्हान गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष केशवप्रसाद सापकोटा, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष होमनाथ जैसी, पुरस्कृत संस्थाहरू अमर साकोसका अध्यक्ष प्रजापति कँडेल र नव त्रिवेणी साकोसका अध्यक्ष घनश्याम चापागाईंले सहकारी बैंकमा गरेको कारोबारले प्रत्यक्ष रूपमा मुनाफा र सहकारीको संकटमा सारथि हुने भएकाले सबैले सहकारी बैंकमै कारोबार गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रम बैंक समन्वय उपसमिति कावासोतीका संयोजक तिलक पराजुलीको अध्यक्षता र शाखा प्रमुख रुक्मत श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

भर्खरै

लोकप्रिय