April 20, 2021, Tuesday
२०७८ बैशाख ७

रातो मत्स्येन्द्रनाथ शान्तिपूर्वक तरिकाले तानेर सोह्रखुट्टे पाटी पुर्‍याइयाे

रातो मत्स्येन्द्रनाथ शान्तिपूर्वक तरिकाले तानेर सोह्रखुट्टे पाटी पुर्‍याइयाे

काठमाडौँ। उपत्यकामा वर्षा र सहकालका देवता रूपमा मानिने गरेकाे ललितपुरको रातो मत्स्येन्द्रनाथको रथ आइतबार परम्परागत बाजागाजासहित पुल्चोकबाट तानेर केही मिटर परसम्म पुर्याइएको छ ।

दिउँसो ३.०० बजे रथ तान्न सुरु भएको र सो रथ ललितपुर महानगरपालिका भवन अगाडिको सोह्रखुट्टे पाटीसम्म पुर्याइएको थियो । मीननाथको रथ भने गाःबहालबाट पुल्चोकसम्म पुर्याउनुको साथै पुरानाे सैनिक गण गुर्जुपल्टनले सलामीसमेत दिइएको थियो ।


कोरोना (कोभिड १९) को महामारी तथा सरकारले जारी गरेको निषेधाज्ञाको कारण मत्स्येन्द्रनाथको रथ तान्ने रोकिएको थियो । रथ तान्नुपर्ने दबाबसहित विभिन्न संस्कृति अभियन्ता तथा पुल्चोकका स्थानीयले दबाब दिँदै आएका थिए ।

सङ्घीय सांसद पम्फा भुषाल, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनलगायत व्यक्ति पनि रथ यात्रामा उपस्थित हुनुहुन्थ्यो ।

मेयर महर्जनले रथ यात्रामा व्यवस्थित भएको र कुनै पनि अप्रिय घटना नभएकोमा खुसी व्यक्त गर्दै भन्नुभयो, ‘संस्कृतिको साथै मानव जीवनलाई पनि बचाउन उत्तिकै आवश्यक छ ।’ 

विभिन्न १९ जातीय खलः पुचःका ५०१ स्वयंसेवक खटाएर रथको मर्मत सम्भार गराउनुका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइरहेको गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिनुभयो ।


ज्यापू समाजका संयोजक चन्द्र महर्जनले मुलुकमा दिनानुदिन फैलिरहेको कोरोना महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा जावलाखेल पुर्याएर भोटोजात्रा गर्न सम्भव नहुँदा तीन–तीन फिट वा छ फिटको दूरीमा हरेक मानिसलाई राखेर हातैले रथ तानेको जानकारी दिनुभयो ।

लोकनाथ र मीननाथको दुवै रथ तान्न १९ जातीय खलका मानिसका साथै पाटनका विभिन्न टोलका चारदेखि पाँच जना मानिस सहभागी हुने महानगरपालिकाले जनाएको छ ।

संयोजक महर्जनले भन्नुभयो, ‘रथयात्रामा सहभागी हुने मानिसलाई पूर्णरूपमा कोभिड–१९ को मापदण्ड अपनाउन लगाउने छाैँ ।” रथयात्रा सम्पन्न भएपश्चात् पाटनवासीले आज घरघरमा ‘छाेयलाबु पर्व’ मनाउने महर्जनले जानकारी गराउनुभयो ।

भर्खरै

लोकप्रिय