April 20, 2021, Tuesday
२०७८ बैशाख ७

काठमाडौंमा केन्द्रिय सहकारी बजार सन्चालन

काठमाडौंमा केन्द्रिय सहकारी बजार सन्चालन

काठमाडौं। नेपालमा सहकारी बजार विकास कार्यक्रमको आर्थिक सहयोगमा काठमाडौँ महानगरपालिका–६ चाबहिलस्थित सरस्वतीनगरमा सुरू भएको छ। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले शुक्रबार उक्त बजारको एक कार्यक्रम बीच उद्घाटन गरेकी हुन्।

मन्त्रालय र युएनडीपीको सहकार्यमा सञ्चालित ‘सहकारी बजार विकास कार्यक्रम’को सहयोगमा कृषि–बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडले निर्माण गरेको केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको हो। नेपाल सरकार र युएनडीपीको सहकार्यमा वाग्मती प्रदेशका ६ जिल्लाका १८ स्थानीय तहका ७१ वटा सहकारीसँग यो कार्यक्रम सञ्चालनमा छ।   

केन्द्रीय सहकारी बजारको उद्घाटनपछि मन्त्री अर्यालले सहकारीबाट उत्पादित सामाग्रीहरुको बजारीकरण आजको आवश्यकता भएको बताइन। अहिले उत्पादनको समस्या नरहेको भन्दै उनले उत्पादित सामाग्रीको बजारीकरण प्रमुख चुनौतीको रुपमा रहेकोमा चिन्ता व्यक्त गरिन्।

‘सहकारीमार्फत उत्पादित सामग्रीको बजारीकरण आजको प्रमुख चुनौती हो। यही कुरालाई दृष्टिगत गरेर सरकारले सहकारी बजार विकास कार्यक्रम सञ्चालन गरेको हो,’ मन्त्री अर्यालले भनिन्, ‘सहकारीमार्फत उत्पादित सामग्री सहकारीमार्फत बजारीकरण गर्नका निम्ति यो कार्यक्रमको हो। यसलाई देशब्यापी बनाउन आवश्यक छ।’

उत्पादित सामग्रीहरुको बजारीकरण आजको आवश्यकता भएको भन्दै उनले यसलाई अझ बिस्तार गरिने बताइन। किसानले उत्पादन गरेको सामग्रीले बजार नपाएर सडकमा पोख्नुपर्ने, नष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सहकारी बजार विकास कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनले बताइन।

यस्ता बजारहरु सरकारको पहलले मात्रै सबै ठाउँमा सम्भव नहुने भन्दै देशभर रहेको सहकारीहरुले पनि सहकार्य गर्न आवश्यक रहेको मन्त्री अर्यालको भनाई थियो। ‘सहकारीसँग प्रशस्त पैसा छ। उनीहरुसँग पैसाको कमी छैन। सहकारीबाट उत्पादित सामग्रीहरुको बजार व्यवस्थापनका निम्ति बजारको व्यवस्था गर्ने कार्यमा सहकारी संस्थाहरुले पनि लगानी गर्नुपर्छ,’ उनले भनिन्। 

किसानहरुले मेहनत गरेर उत्पादन गर्ने तर, त्यसको नाफा बीचमा रहेका बिचौलियाले पाउने कुराको अन्त्य गर्नुपर्ने भन्दै उनले किसानहरुको मर्का सम्बोधन गर्नका निम्ति पनि सहकारी बजार कार्यक्रम उपयुक्त भएको बताइन। 

सहकारी बजारमा रहेको बिचौलिया घटाउने, किसान र बजारलाई सिधै भेट गराउने माध्यमका रूपमा यसलाई सरकारले अगाडि बढाएको हो। यसले किसानहरु बढी लाभान्वित हुने अर्यालको दाबी छ।

जागीरे मानसिकता छाडेर व्यवसायकि मानसिकताको विकास मुलुकको समृद्धीसँग जोडिएको भन्दै उनले प्राकृतिक स्रोत र मानव स्रोतको समिश्रणबाट नै समृद्धी सम्भव भएको बताइन। सहकारी बजारले बढीभन्दा बढी अग्र्यानीक उत्पादनमा जोड दिनुपर्ने भन्दै उनले तरकारी, फलफूलमा प्रयोग भएका विषादीको परिक्षण गर्ने प्रविधिको पनि प्रयोग गर्न आवश्यक रहेको बताइन। 

भर्खरै

लोकप्रिय