April 20, 2021, Tuesday
२०७८ बैशाख ७

५ लाख ४० हजार आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने

५ लाख ४० हजार आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने

काठमाडौं: प्रभु लाइफ इन्सुरेन्सको आइपीओमा कुल २ अर्ब ९२ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

१० लाख ८२ हजार १४३ जनाले २ करोड ९२ लाख ८७ हजार ४३० कित्ताका लागि आवेदन दिएका हुन् ।

यो मागको तुलनामा ५।४२ गुणा बढी हो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार यो अन्तिम तथ्यांक हो ।

तर कतिपय आवेदनमा त्रुटी भेटिएकाले भेरिफाई गरेपछि भने सामान्य परिवर्तन हुन सक्ने बिक्री प्रबन्धकले जनाएको छ ।

प्रभुको आइपीओमा कुल आवेदकको संख्या १० लाख ८२ हजार १४३ जना रहेको बिक्री प्रबन्धकले जनाएको छ ।

यसआधारमा सर्वसाधारणलाई बिक्री गरीएको ५४ लाखलाई आधार मान्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ ।

५ लाख ४२ हजार १४३ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् । बिक्री प्रबन्धकका अनुसार कतिपय आवेदनमा त्रुटी भेटिएकाले भेरिफाई गर्दा सेयर पाउनेको संख्या सामान्य बढ्न भने सक्नेछ ।

प्रभु लाइफले मंसिर २९ गतेबाट पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।

यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो ।

बाँकी रहेको ५४ लाख कित्तामा मात्र सर्वसाधारणको लागि खुला गरिएको हो ।

प्रभुलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबी प्लस’ रेटिङ दिएको छ ।

यस रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ । हाल प्रभुको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । बिमा समितिको प्रावधान अनुसार जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्दछ ।

भर्खरै

लोकप्रिय