April 20, 2021, Tuesday
२०७८ बैशाख ७

न्याय परिषद् सदस्यका छोरा सहित दुईजना ठगी गरेको आरोपमा पक्राउ

न्याय परिषद् सदस्यका छोरा सहित दुईजना ठगी गरेको आरोपमा पक्राउ

काठमाडौै-न्याय परिषद् सदस्य लक्ष्मीबहादुर ‘निराला’ खड्काका छोरा र उनका साझेदार गरी दुईजनालाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग काठमाडौले करिब तीन करोड रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौंको बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कूलका सञ्चालक समेत रहेका न्याय परिषद् सदस्य निरालाका छोरा शिरिष खड्का र उनका साझेदार सुरेन्द्र महर्जनलाई शनिबार काठमाडौँबाट पक्राउ गरेको हो ।

उनीहरुले स्कुलको नाममा कोटेश्वरमा रहेको २ रोपनी १४ आना २ पैसा जग्गा विक्री गर्न कृष्णप्रसाद देवकोटासँग वैशाख २०७६ मा २ करोड ७५ लाख बैना लिएका थिए ।

तर, जग्गा अर्कैलाई बेचेका उनीहरुले बैना रकम समेत फिर्ता नगरेको भन्दै देवकोटाले प्रहरीमा उजुरी दिएका थिए ।

गत फागुनमै उजुरी दिएका देवकोटाले बैना रकम फिर्ता गर्न वा जग्गा बिक्रि गर्न लामो समय ताकेता गरे पनि उनीहरुले शक्तिको आडमा अनेक कानुनी दाउपेच गरी छल्दै आएका थिए ।

बैना फिर्ता नगरेको र तोकिएको मितिभित्र जग्गा पास नगरेको भन्दै देवकोटाले एक बर्ष अगाडी नै जाहेरी दर्ता गरे पनि प्रहरीले पक्राउ गरेको थिएन । उनीहरुले फरार रहेकै अबस्थामा गत कार्तिक २७ गते जग्गा अर्कैलाई बेचेका थिए ।

बैना लिएर जग्गा नदिई रकम ठगी गरेको आरोपमा दुबैलाई पक्राउ गरिएको हो । उनीहरुले पीडितलाई बैना रकमसमेत फिर्ता नगरेपछि ठगी मुद्दामा जाहेरी परेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी प्रमेश विष्टले बताए ।

उक्त जग्गा अन्य बैंकमा रोक्का रहेको अवस्थामा ठगी गर्ने उद्देश्यले नै बैना गरेको पाइएको प्रहरी डीएसपी विष्टले बताए । उनीहरुविरुद्ध गत वर्षको फागुनमै उजुरी परे पनि आवश्यक अनुसन्धान प्रक्रिय पूरा गरी आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न रहेका अन्य चार जना फरार रहेको र उनीहरुको खोजी जारी रहेको प्रहरीको भनाई छ ।

भर्खरै

लोकप्रिय