May 6, 2021, Thursday
२०७८ बैशाख २३

हिन्दू सम्राटका हैसियतमा पूर्वराजा ज्ञानेन्द्र शाहको हिन्दूस्थान यात्रा

हिन्दू सम्राटका हैसियतमा पूर्वराजा ज्ञानेन्द्र शाहको हिन्दूस्थान यात्रा

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह गत बिहीवार हिन्दू सम्राटको हैसियतमा भारत प्रस्थान गरेका छन् । पूर्व राजपरिवार सहितको टोली उत्तराखण्ड राज्य अन्तर्गत हिन्दुहरुको प्रमुख धार्मिक स्थल हरिद्वारमा आयोजना हुने महाकुम्भमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्।

चैत ३० गते पूर्वराजा शाहले हिन्दुहरुको पवित्र धार्मिक स्थल हरिद्वारमा महाकुम्भका अवसरमा हिन्दू सम्राटको हैसियतमा गंगामा शाही स्नान गर्ने कार्यतालिका रहेको छ ।

पूर्वराजा शाहका सञ्चार विज्ञ फणी पाठकले विज्ञप्ती जारी गरेर महाकुम्भ मेला २०२१ विशेष समितिको विशेष आमन्त्रणमा शाही स्नानमा सहभागी हुन लागेको जानकारी दिएका छन्।

हरेक १२ वर्षको अन्तरमा महाकुम्भ मेला आयोजना हुने गर्छ । महाकुम्भ मेलामा मार्च ११ मा साधु-सन्तले गंगामा डुबुल्की लगाएर शाही स्नानको सुरुवात गरिसकेका छन् ।

दोस्रोपटकको शाही स्नान अप्रिल १२ अर्थात ३० चैतमा पूर्वराजा शाहले गंगामा स्नान गर्नेछन् । यस दिन अमावस्या र सोमवती अमावस्याको विशेष मुर्हत परेको छ ।

ज्ञानेन्द्रलाई महाराजाको मान र नेपाली झण्डासहितको रथबाट शाही जुलुससहित सम्मानपूर्वक शाही स्नान गराउने कार्यतालिका रहेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो पहिलो मौका हो कि कुनै देशको राजाले सन्तहरु सँगै कुम्भ मेलामा शाही स्नान गर्दैछन् । कुम्भ पर्वका अवसरमा हरिद्वार पुगेका ज्ञानेन्द्रले यसलाई आफ्नो सौभाग्य भनेका छन्।

हरिद्वारमा पूर्वराजा शाहलाई उत्तरखण्डका मुख्यमन्त्री तीरथसिंह रावतले नेपालका राजाको हैसियतमा विशेष स्वागत गरेका छन् । त्यसै अनुसार शाही टोलीको सुरक्षा प्रबन्ध मिलाइएको छ। मुख्यमन्त्री रावतले आफ्नो सरकार कुम्भ मेलालाई सुरक्षित सञ्चालन गर्न दृढ संकल्पित रहेको बताएका छन्।

शाही स्नानलाई राजयोगी स्नान पनि भनिन्छ । धार्मिक कथा अनुसार देवताहरु र राक्षसहरुद्वारा समुद्र मन्थनपछि अमृत कलश भेटियो । जसलाई पाउन दुवै पक्ष बिच लडाई भयो ।

गरूड अमृत कलश लिएर आकाशमा उड्दा बिचमा हरिद्वार, इलाहाबाद, नासिक र उज्जैन गरेर ४ स्थानमा अमृत खस्यो। यसकारण भनिन्छ कि कुम्भ मेलाका क्रममा शाही स्नान गर्दा अमरत्व प्राप्त हुन्छ।

हरिद्वारका वरिष्ठ स्वामी कैलाशानन्द गिरीले पत्र पठाएर पूर्वराजा शाहलाई महाकुम्भमा सहभागी भई माता गंगामा स्नान गरी भारतवर्षका उत्कृष्ट ऋषि मनीषिसँग आशीर्वाद ग्रहण गरी आफ्नो मुलुकको कुशलताका लागि आशिष प्राप्त गर्न अनुरोध गरेका थिए।

शाही स्नान कार्यक्रममा स्वामी कैलाशानन्द गिरी, उत्तरखण्डका मुख्यमन्त्री रावत, केदारनाथका पिठाधीश लागायत साधु सन्त उपस्थित हुनेछन् । कुम्भ मेलामा सहभागी हुन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) प्रमुख मोहन भागवत पनि हरिद्वार आएका छन्।

हरिद्वार पुगेका शाहले दक्षिणकाली मन्दिर पहुँचमाईको दर्शन गरेका छन् भने निरञ्जनी अखाडाका आचार्य महामण्डलेश्वर कैलाशानन्द गिरी महाराजबाट आशीर्वाद लिएका छन्।

विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीका अनुसार शाही स्नान विशेष मुर्हतमा गर्ने स्नान हो । राजा, महाराजा, ठूला ठूला शंकराचार्यहरुले मुर्हत हेरेर स्नान गर्ने परम्परा छ।

भण्डारीले हरेक पटकको भ्रमणमा भारतले ज्ञानेन्द्र शाहलाई राजाकै हैसियतमा व्यवहार गरेको र सम्मान दिएको स्मरण गराइन् । अहिले पनि राजाकै हैसियतमा सम्मान गर्न लागेको बताउँदै उनले राजनीतिक रुपमा व्यवस्था परिवर्तन भए पनि हिन्दु परम्पराअनुसार हिन्दु राजालाई गर्ने सम्मान भएको बताइन् । ‘नेपालमा राजा नभएको अवस्थामा पनि हाम्रो हिन्दु परम्पराअनुसार सम्मान गरिँदै आएको छ,’ उनले भनिन् ।

भण्डारी सन् २०१८ फेब्रअरीमा पूर्वराजा शाहको उडिसास्थित पुरी भ्रमणमा सँगै गएकी थिइन्। त्यहाँका शंकराचार्यले ज्ञानेन्द्रलाई राजाकै हैसियतमा आमन्त्रण गरेको र राजकीय भ्रमण गराएको भन्दै भण्डारीले राज्यको मुख्यमन्त्री नै स्वागतमा आएको स्मरण गरिन्।

त्यसअगाडि नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने शुभेच्छा राख्‍ने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनवरीमा लखनउमा ज्ञानेन्द्र शाहलाई राजाकै हैसियतमा आमन्त्रण गरेर ‘नेपालका नरेश’ भनेर सम्मान गरेका थिए।

भर्खरै

लोकप्रिय