कला संस्कृतिको विकासका लागि तल्लो तहबाटै काम सुरु गर्दै ललितकला प्रज्ञा प्रतिष्ठान

कला संस्कृतिको विकासका लागि तल्लो तहबाटै काम सुरु गर्दै ललितकला प्रज्ञा प्रतिष्ठान

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गत मङ्सिर २९ र ३० गते सम्पन्न गरेको १५औंँ प्राज्ञसभाका निर्णयहरूसँगै ललितकलाको क्षेत्रमा आगामी दिनमा गरिने कार्यक्रमहरूको बारेमा जानकारी गराएको छ ।

मंगलबार पत्रकार भेटघाट कार्यक्रम गर्दै प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानले कला क्षेत्रको विकास र प्रवर्धनका लागि प्रतिष्ठानले तलै देखि काम सुरू गरेको बताए । ‘हामीले गर्न लागेका कामहरू केही महत्वाकांक्षी देखिएता पनि कार्यान्वयन गर्न सकिने खालका छन् ।’ उनले भने ।

त्यस्तै, प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले संस्थागत संरचना, नीतिगत कार्यक्रम, आर्थिक, प्रशासनिक तहमा दीर्घकालिन महत्व राख्ने कार्यक्रम तथा निर्णयहरू गर्न लागेको जानकारी दिए । उनले सबैको सहकार्यबाटै नै यी कार्यहरू सफल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उपकुलपति लालकाजी लामा, प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा राई, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य वासुदेव श्रेष्ठलगायतका व्यक्तित्वहरुका साथै विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यस्तो छ संस्थाको भावि योजना

संस्थाले निकै महत्वकांक्षी योजनाहरु अघि सारेको छ । जस अन्तर्गत ‘नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानः अनुसन्धान, सिर्जना र सम्मान’ भावमा रही ललितकला क्षेत्रको रणनीतिक योजनासहित देशका सातै प्रदेशमा विभिन्न कार्यक्रम गर्ने तयारीमा प्रतिष्ठान लागेको छ । छायाँमा परेका कला, स्थान र प्रतिभालाई प्राथमिकता दिएर नेपाली राष्ट्रियपनको रैथाने लोकसमुदायगत संस्कृति र भौगोलिक–प्राकृतिक पर्यावरणको विषयवस्तुलाई उठाउन जोड दिइने बताइएको छ । त्यसका लागि प्रतिष्ठानले विभिन्न कार्यविधि समेत तयार गरेर प्रदेशको थप आधारभूत छलफल तथा तथ्यस्थिति अध्ययनपश्चात् निर्माण गरिने बताइएको छ ।

यस्तै ललितकला क्षेत्रको प्राज्ञिक उन्नयनसँगै मौलिकता संरक्षण गर्ने, रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा योगदान दिने लक्ष्यानुसार प्रतिष्ठानको १० महिने कार्यावधिमा सम्भव भएसम्म राजधानी तथा देशका सातै प्रदेशमा रहेका कलाकार तथा कला संस्थासँग भेटघाट गरी कलाक्षेत्रमा गर्नुपर्ने कार्यका बारेमा छलफल गर्ने बताइएको छ । यो संगै प्रतिष्ठानले अन्य विभिन्न कार्यक्रमहरु अघि बढाएको छ । प्रतिष्ठानको १५ औँ प्राज्ञसभाबाट विभिन्न ५ वटा कार्यविधिहरु स्वीकृत गर्दै कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ ।

जसमा राष्ट्रिय ललितकला प्रदर्शनी २०८०, प्रादेशिक ललितकला प्रदर्शनी २०८०, हलभाडा कार्यविधि २०८०, ‘ललितप्रज्ञा’ जर्नल कार्यविधि २०८० र ललितकला कलाकार परिचयपत्र वितरण कार्यविधि २०८० रहेका छन् ।

गत आर्थिक वर्षको प्रगति विवरण, चालु आर्थिक वर्षको कार्यक्रम र बजेट र चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिको प्रगति स्वीकृत गरिएको छ । यसैगरी, गण्डकी प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानसँग ललितकला क्षेत्रको विकास र समृद्धि गर्ने लक्ष्यलाई केन्द्रमा राखेर समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस्तै काठमाडौं विश्वविद्यालयसँग समेत समझदारी पत्रमा हस्ताक्षर भएको छ । सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, जनक राजर्षि विश्वविद्यालयसँग ललितकला विभाग खोल्ने विषयमा पत्राचार गरिएको छ । काठमाडौं महानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा शिक्षामा सीप कार्यक्रम अन्तर्गत स्केचिङ एण्ड स्क्ल्पचर मोड्युलको तालिम सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरी काम अगाडि बढिसकेको छ ।

‘सिन्धुपाल्चोककोे पाँचपोखरी थाङ्पाल गाउँपालिकासँगको सहकार्यमा सो गाउँपालिकामा ८४ फिट अग्लो बुद्धमूर्ति निर्माण कार्य यो आर्थिक वर्षमा पनि नियमित भइरहेको छ । १७ फिट अग्लो अरनिको धातुको मूर्ति बनाउने कार्य गतवर्ष नै सम्पन्न भइ जोड्ने काम बाँकी रहेको छ । उचित स्थान पाएमा यसै वर्ष यो कार्य पूरा गरिनेछ । कलाका लागि उचित भौतिक पूर्वाधार र बजेट अभाव तथा नेपाली कला र कलाकारको तथ्यतथ्यांकको अभाव रहे तापनि प्रतिष्ठानले ललितकला क्षेत्रको श्रीबृद्धिका लागि योजनाबद्ध ढंगले काम गरिरहेको छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

लोकप्रिय