May 6, 2021, Thursday
२०७८ बैशाख २३

पशुपति क्षेत्रका सबै मन्दिर बन्द, नित्य पूजा जारी

पशुपति क्षेत्रका सबै मन्दिर बन्द, नित्य पूजा जारी

काठमाडौं – नयाँ भेरियन्टसहितको कोरोना व्यापक रुपमा बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ ।

बिहीबार दिउँसो पशुपति क्षेत्र विकास कोषले कोरोना जोखिमका कारण यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

विभिन्न स्थानमा सूचना टाँस गरी मन्दिर बन्द गरिएको जानकारी गराएको थियो भने सूचना थाहा नपाएका केही भक्तजन आज बिहानै मन्दिर पुगेका थिए । मन्दिरका ढोका नै बन्द गरी पशुपति क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको कोषले जनाएको छ ।पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए।

पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजाबाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ । यसबाट भक्तजनमा पर्न गएको असुविधाप्रति कोषले क्षमा मागेको छ ।

गत वर्ष पनि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण नौ महिनासम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत मठमन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

मन्दिर बन्द गरिएसँगै पशुपति क्षेत्रको घाट सेवामा पनि सरकारले तोकेको मापदण्डभन्दा बढी मानिस उपस्थित नहुन कोषले आम मानिसमा आह्वान गरेको छ ।

घाट सेवामा आउने सबैलाई अनिवार्यरूपमा मास्क लगाई स्वास्थ्य सुरक्षाका विधि अपनाउन कोषले आह्वान गरेको छ । पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएपछि भेटीघाटीबाट कोषलाई हुने आम्दानी पनि बन्द हुने भएको छ ।

भर्खरै

लोकप्रिय