राष्ट्रिय स्वाधिनताको मुद्दा उठाउँदा एमालेलाई घेराबन्दी गरियो – वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रियताको मुद्दा उठाउँदा एमालेलाई घेराबन्दीमा पारेको बताएका छन् । एमाले नेतृत्वको सरकारको पालामा चुच्चे नक्सा, राष्ट्रिय स्वधिनता, समृद्धिको मुद्दा उठाए वापत् अहिले एमाले घेराबन्दीमा परेको पोखरेलले बताए ।
धादिङ जिल्लाको प्रथम जिल्ला परिषद्को उद्घाटन गर्दै पोखरेलले एमालेलाई अहिले चारैतिरबाट घेराबन्दी गरिए पनि २०८४ को निर्वाचनपछि भने एमाले पहिलो शक्ति बन्ने उनले दाबी गरे । एमाले देशको पहिलो शक्ति बन्दा मात्र देशको रक्षा हुने उनले बताए ।
एमालेले राष्ट्रिय र समृद्धिको कुरा गर्दा अहिले सबैको तारो बनेको पोखरलेको भनाई छ । उनले एमालेको पालामा भौतिक पूर्वधार निर्माणको कामले ऐतिहासिकता कायम भएको उनले बताए । ‘एकै दिनमा १४ सय रणनीतिक महत्वका सडक शिलान्यायस भयो । एकैदिनमा ३९६ वटा अस्पताल निर्माणको काम सुरु भयो । यो एमालेका नेता ओलीले गरेको हो । उहाँसँग देश बनाउने सपना छ ।’ उनले भने ।
एमालेसँग भएको यस्तै भिजनका कारण अहिले सबैले एमालेलाई घेराबन्दी गरेको उनलेको आरोप छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरू भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्शा गायब बनाइएको बताए । उनले वर्तमान सरकारले ठूलाठूला देशभक्ति र स्वाभिमानको कुरा मात्रै गरेको तर चुच्चे नक्साको बारेमा कुनै वाक्य बोल्न नसकेको बताए ।
नेपालको संसदले सर्वसम्मत रुपले पारित भएको नेपालको चुच्चे नक्सालाई बुच्चे बनाइएको भन्दै उनले सरकारको निरन्तर आलोचना गर्दै आएका छन् । ‘हामीले भनेका छौँ, यो चुच्चे नक्सा बनाउनुको अर्थ के हो भने, हाम्रो जमिन खोसियो, अतिक्रमण भयो, छिमेकीले हेप्यो । अब छिमेकीले अतिक्रमण गरेका भूमि फिर्ता लिनुपर्छ भनेर एमालेले भन्यो ।’ पोखरेलले भने ।
एमालेले छिमेकीसँग झगडा नगर्ने तर देशको स्वाधिनता र स्वतन्त्रता अलिकति पनि कमजोर हुन नदिने अडान रहेको स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस्