युएईले दियो नेपाललाई १८२ रनको मध्यम लक्ष्य, सन्दीप र करणको उत्कृष्ट प्रदर्शन
काठमाडौं । विश्वकप छनोट अन्तर्गत सातौँ स्थानका लागि भएको प्ले अफ सेमिफाइनल खेलमा यूएईले नेपाललाई १८२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४६.५ ओभरमा १ सय ८१ रनमा अल आउट भयो ।
युएईका कार्यवाहक कप्तान वृत्य अरविन्दले ७५ बलमा ४ चौकासहित सर्वाधिक ४४ रन बनाए । आयरल्यान्डविरुद्ध घाइते भएका कप्तान मोहम्मद वासिम नहुँदा युएईले आसिफ खानलाई ओपनिङ पठाएको थियो । मध्यक्रमका ब्याटर आसिफ नेपालविरुद्ध पहिलो ओभरको दोस्रो बलमै शून्यमा आउट भए ।
उनी तीव्र गतिका बलर करण केसीको बलमा एज लागेर विकेटकिपर अर्जुन साउदबाट क्याच हुन पुगेका थिए । ओपनरलाई दोस्रो बलमै गुमाएपनि युएईका दुई युवा ब्याटर अर्यांश शर्मा र वृत्यले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।
तर स्पिनर सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै उक्त साझेदारी तोडेका थिए । सन्दीपको १५ औं ओभरको अन्तिम बलमा अर्यांश शर्मा एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट २८ रनमा क्याच आउट भए । उनले ४३ बलमा ३ चौका प्रहार गरे ।
सन्दीपले मध्यक्रमका ब्याटर रमिज शाहजादलाई १० रनमा एलबीडब्लू आउट गर्दै दबाब बढाएका थिए । तीव्र गतिका बलर गुलशन झाले कार्यवाहक कप्तान वृत्य अरविन्दलाई बोल्ड आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए । पाँचौं विकेटका लागि रोहन मुस्तफा र बासिल हामिदले ५८ रनको साझेदारी गरेका थिए ।
नेपालका सन्दीप लामिछानेले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । करण केसीले ८.५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । प्रतिश जि.सी, गुलशन झा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । नेपाल यस खेलमा विजयी भएमा सातौं स्थानको लागि आयरल्यान्ड्सँग खेल्नेछ । यदि पराजित भएमा नेपालले नवौं स्थानको लागि अमेरिकासँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस्