मुग्लिन–नारायणगढ सडक खण्डको पहिरो पन्छाउने काम जारी, साँझसम्म खुल्ने
काठमाडौं । मुग्लिन– नारायणगढ सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा खसेको पहिरो पन्छाउने काम अहिले जारी छ । गए रातिदेखि अवरूद्ध यो सडकखण्ड अझै सुचारू भएको छैन ।
गएराति ११ बजे पहिरो खस्दा अवरूद्ध भएको सडक खुलाउन बिहानैदेखि स्काभेटर परिचालन गरिएको भए पनि पन्छाउन नसकिएको चितवन ट्राफिक प्रहरी प्रमुख राजकुमार तामाङले जानकारी दिएका छन् ।
‘अहिले दुई वटा स्काभेटर र दुई वटा लोडर परिचालन गरेर पहिरो पन्छाइराखेका छौं । ठुल्ठूला ढुंगा थुप्रिएर रहेकाले साँझसम्म लाग्ने भयो,’ उनले भने । तुइन खोलाको मुग्लिनपट्टिको भागमा पहिरो गएको छैन । तर, नारायणगढतर्फको भागमा खुकुलो चट्टान रहेको र पानी पर्नासाथ पहिरो खस्ने उनले बताए ।
पहिरो पन्छाएपछि छिटोभन्दा छिटो आवागमन सुरू हुने प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि मुग्लिनतर्फबाट आएका सवारी फिस्लिङ, कुरिनटार, मुग्लिनबजारमा रोकिएका छन् भने नारायणगढतर्फबाट आउने सवारी आँपटारी, रामनगर, जुगेडी, दासढुंगामा रोकिएका छन् ।

प्रतिकृया दिनुहोस्