दीपेन्द्र र सन्दीपको उत्कृष्ट प्रदर्शनमा नेपालले युएईलाई हरायो
काठमाडौं । युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङ र स्पिनर सन्दीप लामिछानेको अलराउण्डर प्रदर्शनमा नेपालले आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईलाई तीन विकेटले पराजित गरेको छ । योसँगै नेपालले विश्वकप छनोटको अन्तिम खेल मंगलबार टेस्ट टोली आयरल्यान्डसँग सातौं स्थानको लागि प्रतिस्पर्धा गर्ने भएको छ ।
जितको लागि जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र ८५ बलमा ७ चौका र २ छक्कासहित ७९ रनमा अविजित रहे ।
सन्दीप लामिछानेले ३७ बलमा २ चौकासहित २३ रनमा नट आउट रहे । आठौं विकेटका लागि दीपेन्द्र र सन्दीपले १५ ओभरमा ७९ रनको अविजित साझेदारी गर्दै खेल सकाए । एक समय ६३–६ को दयनीय अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि दीपेन्द्रले गुलशन झासँग ४३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । गुलशन २४ बलमा १ चौकासहित १२ रनमा आउट हुन पुगेका थिए ।
नेपालले दोस्रो ओभरको पहिलो बलमै ओपनर तथा विकेटकिपर अर्जुन साउदलाई एक रनमा गुमाएको थियो । साता महिनापछि टोलीमा मौका पाएका अर्जुनले त्यो अवसर सदुपयोग गर्न सकेनन् ।
खेल प्रतिष्ठाको लडाई हुँदा आसिफ शेखलाई विश्राम दिँदै अर्जुनलाई मौका दिएको थियो । तीव्र गतिका बलर मोहम्मद जवादुल्लाहले अर्जुनलाई एक रनमा एलबीडब्लू आउट गरेका थिए । लामो समयपछि टोलीमा खेल्ने मौका पाएका अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल १३ रनमा क्याच आउट हुन पुगे । तीव्र गतिका बलर जुनैद सिद्दिकको बलमा ज्ञानेन्द्र टप एज लागेर बासिल हामिदबाट समातिन पुगेका थिए । ज्ञानेन्द्रले २२ बलमा २ चौका प्रहार गरे ।
कप्तान रोहित पौडेल पुन सर्ट बलको शिकार बने । रोहित जवादुल्लाहको सर्ट बलमा एज लागेर विकेटकिपर अर्यांश शर्माबाट रोहित ४ रनमा समातिन पुगेका थिए । जवादुल्लाहको बलमा भीम सार्की एज लागेर शर्माबाट १ रनमा क्याच आउट भए । सन्चित शर्माले आरिफ शेखलाई एक रनमा एलबीडब्लू आउट गरेका थिए ।
कुशल भुर्तेल अली नासिरको सर्ट बलमा सन्चित शर्माबाट क्याच आउट भएपछि नेपाल २०.५ ओभरमा ६३.६ को दयनीय अवस्थामा पुगेको थियो । कुशल भुर्तेल ५९ बलमा ४ चौकासहित ३५ रनमा आउट भए ।
युएईका मोहम्मद जवादुल्लाहले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । जुनैद सिद्दिक, अली नासिर, सन्चित शर्मा र रोहन मुस्तफाले समान एक विकेट लिए ।
त्यसअघि जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४६.५ ओभरमा १ सय ८१ रनमा अल आउट भएको थियो । युएईका कार्यवाहक कप्तान वृत्य अरविन्दले ७५ बलमा ४ चौकासहित सर्वाधिक ४४ रन बनाएका थिए । तर त्यो रन जितको लागि पर्याप्त हुन सकेन ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३ मेडन सहित २३ रन खर्चेर ३ विकेट लिए । करण केसीले ८.५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । प्रतिश जि।सी, गुलशन झा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । नेपाल सातौं स्थानको लागि मंगलबार आयरल्यान्डसँग खेल्नेछ । विश्वकप छनोटमा त्यो नेपालको अन्तिम खेल हुनेछ ।
उक्त खेलमा विजयी भएमा नेपाल सातौं र पराजित भएमा आठौंमा रहेर विश्वकप छनोट अन्तय गर्नेछ । नवौं स्थानको लागि अमेरिका र युएईबीच बिहीबार प्रतिस्पर्धा हुनेछ ।

प्रतिकृया दिनुहोस्