सिंगापुरलाई हराउँदै नेपाल एसिसी यू१६ इस्ट जोन कपको फाइनलमा

सिंगापुरलाई हराउँदै नेपाल एसिसी यू१६ इस्ट जोन कपको फाइनलमा

काठमाडौं । सेमिफाइनलमा सिंगापुरलाई हराउँदै नेपालले एसिसी यू१६ इस्ट जोन कपको फाइनलमा स्थान बनाएको छ । जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अल आउट भयो ।

नेपालका तीव्र गतिका बलर अभिषेक तिवारीको पहिलो ओभरको अन्तिम बलमा प्रमुख ब्याटर श्रेयान चयौं २ रनमा क्याच आउट भएका थिए । उनी सर्ट बलमा टप एज लागेर दिपु कुमारबाट समातिन पुगे ।

दोस्रो विकेटका लागि रोशन रविचन्द्रन र राहिल थकरले ३३ रनको साझेदारी गरेका थिए । रोशन ३७ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा आउट भए । रोशन आउट भएपछि भने सिंगापुरले पुन संघर्ष गरेको थियो । राहिल पनि ३१ बल खेल्दै ७ रनमा आउट भए । एसलान जाफ्री ३ रनमा अशोक धामीको बलमा बोल्ड आउट भए । कबिर ११, रैनक नैक र हरिहरन ५–५ रनमा आउट भए ।

नेपालका कार्तिक कामतले २.३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । स्पिनर सन्तोष यादवले ७ ओभरमा ३ मेडनसहित ५ रन खर्चेर १ विकेट लिए । नरेन भट्टले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर १ विकेट लिए । अशोक धामीले ७ ओभरमा २ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । अभिषेक तिवारी र प्रतिक पोखरेलले समान एक विकेट लिए ।

त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । नेपालको जितमा ओपनर निरजकुमार यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रनको योगदान दिए ।

नेपाललाई ओपनर सुर्यांशु कोइराला र निरज यादवले पहिलो विकेटका लागि ११.३ ओभरमा ६३ रनको साझेदारी गर्दै राम्रो बलियो योगफलको सम्भावना देखाएका थिए । सूर्यांशु हर्ष वेंकटरामको बलमा रियान नैकबाट क्याच आउट हुन पुगे । उनले ४९ बलमा ६ चौकासहित ४३ रन बनाएका थिए ।

मलेसियाले अर्को सेमिफाइनल खेलमा हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको छ । समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराएको थियो ।

नेपालले फाइनल खेल अब मलेसिया संग खेल्ने छ । मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको छ ।

लोकप्रिय