नेपालमा पनि ‘नो भोट’को व्यवस्था लागू गर्दै निर्वाचन आयोग

नेपालमा पनि ‘नो भोट’को व्यवस्था लागू गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचन देखि नै ‘नो भोट’को व्यवस्था गर्नुपर्ने प्रस्ताव पेस गरेको छ । त्यस्तो मत ५० प्रतिशत भन्दा बढी परेमा निर्वाचन रद्द हुने ऐनको मस्यौदामा उल्लेख छ ।

‘कुनै मतदाताले कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको भनी मतदान गर्न चाहेमा आयोगले त्यस्तो उम्मेदवारलाई समर्थन नरहने गरी मतपत्रमा मतदानको व्यवस्था गर्ने । मतपत्र गणना गर्दा कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको मतसंख्या निर्वाचनमा मतदान भएको कूल सदर मतको पचास प्रतिशत भन्दा बढी भएमा त्यस्तो निर्वाचन रद्द हुने’, प्रस्तावित मस्यौदाका बारेमा आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोमबार बसेको निर्वाचन आयोगको बैठकले निर्वाचन व्यवस्थापनलाई अझ बढी स्वच्छ, निष्पक्ष, सहज र प्रभावकारी बनाउन नेपालको संविधान, सर्वोच्च अदालतबाट भएका निर्देशनात्मक आदेश तथा अन्तर्राष्ट्रिय अभ्यास र विगतका अनुभव तथा पृष्ठ पोषण समेतका आधारमा साविकको निर्वाचन सम्बन्धी कानूनमा परिमार्जन गरी ‘निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ नेपाल सरकार गृह मन्त्रालयमार्फत् संसदमा पेस गर्ने निर्णय गरेको हो ।

लोकप्रिय