निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित

निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित

काठमाडौं । नेपाल आइसिसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि भएको खेलमा टेस्ट टोली आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ । यो सँगै नेपाल १० टोली सहभागी प्रतियोगितामा आठौं हुँदै विश्वकप छनोट यात्रा समाप्त गरेको छ ।

जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले ओभरमा विकेट गुमाउँदै पूरा गर्यो । आयरल्यान्डलाई जितको लागि अन्तिम ६ बलमा ५ रन चाहिँएको थियो । पहिलो बलमा ग्यारेथी डेलानीले एक रन लिए । ब्यारी म्याकार्थीले दोस्रो बलमा थर्डमा चौका हान्दै खेल सकाए । डेलानी १६ र म्याकार्थी ४ रनमा नट आउट रहे ।

आयरल्यान्डको जितमा ह्यारी टेक्टरले ७६ बलमा ४ चौका र २ छक्कासहित ६० रनको योगदान दिए । त्यस्तै कर्टिस म्याम्फर ५९ बलमा ८ चौका र १ छक्कासहित ६२ रनमा आउट भए । स्पिनर सन्दीप लामिछानेको १५ औं ओभरको तेस्रो बलमा ह्यारी टेक्टरको क्याच किशोर महतोले लङअनमा ब्यक्तिगत २१ रनमा छाड्न पुगेका थिए । त्यो नेपाललाई भारी पर्यो ।

नेपालका करण केसीले १० ओभरमा १ मेडनसहित ५८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । किशोर महतोले १० ओभरमा ५५ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । गुलशन झाले एक विकेट लिए ।

त्यसअघि जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो । नेपालका युवा अलराउन्डर गुलशन झाले ४२ बलमा ४ चौका र ३ छक्कासहित ५७ रनमा अविजित इनिङ खेलेपनि जितको लागि पर्याप्त भएन ।

स्पिनर सन्दीप लामिछाने ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा क्याच आउट भए । आठौं विकेटका सन्दीप र गुलशन झाले ८० रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेका थिए । यो नेपालबाट ओडिआईमा आठौं नम्बरको लागि भएको उच्च साझेदारी हो । यसअघि आठौं विकेटका लागि दीपेन्द्र र सन्दीपले आइतबार मात्रै युएईविरुद्ध ७९ रनको साझेदारी गरेका थिए ।

लोकप्रिय