सन्दीप र करणको ओडिआई वरियतामा सुधार
काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर करण केसीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरियतामा सुधार गरेका छन् ।
ओडिआई वरियताको ब्याटिङतर्फ नेपालका रोहित पौडेल एक स्थान घटेर ७३ औं स्थानमा पुगेका छन् । ओपनर आसिफ शेखको वरियता चार स्थान घट्दै ७७ औं स्थानमा झरेका छन् । ब्याटिङतर्फ शीर्ष १ सय वरियतामा नेपालका दुई खेलाडी मात्रै छन् ।
ओडिआईको बलिङतर्फ सन्दीप लामिछानेले एक स्थान सुधार गर्दै २४ औं स्थानमा छन् । सन्दीप भन्दापछि भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराह २६ औं, श्रीलंकाका स्पिनर वानिन्दु हसरंगा २९ औं, महेश थिक्सेना ३२ औं र युजभेन्द्र चहल ४४ औं स्थानमा छन् ।
बलिङतर्फ दीपेन्द्रसिंह ऐरीको वरियता ५ स्थान खस्किदै ६२ औं मा पुगेका छन् । सोमपाल कामीको दुई स्थान घट्दा ७८ औं स्थानमा छन् । करण केसीले भने दुई स्थान सुधार गर्दै ८७ औं स्थानमा छन् । ललित नारायण राजवंशीको पनि वरियता घट्दै ९९ औं स्थानमा पुगेका छन् । नेपाल ओडिआईमा १४ औं र टि२० आईमा १७ औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्