प्रधानमन्त्री प्रचण्डले गलत बोल्नुभयो – महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गलत अभिव्यक्ति दिएको बताएका छन् । हलुका अभिव्यक्तिको गम्भीर अर्थ र असर हुन सक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्री दाहालको गल्ती भएको महामन्त्री शर्माको भनाइ छ ।
‘नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘मित्र राष्ट्रहरूलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मुलत प्रधानमन्त्रीकै हो ।’ यस विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमाले र प्रतिपक्षी अन्य दलहरूले प्रश्न उठाउनु स्वभाविक भएको शर्मा बताउँछन् । ‘प्रश्न हामी नै उठाइरहेका छौं, प्रतिपक्षको त मुल कर्तव्य नै हो,’ उनले भनेका छन्, ‘आलोच्य अभिव्यक्तिको आलोचना जरूरी छ ।’
प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली पुगेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले बुधबार प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरूद्ध गर्दै प्रधानमन्त्रीको राजीनामा मागेका थिए ।

प्रतिकृया दिनुहोस्