लन्डनमा डा. रुइतलाई सम्मान

लन्डनमा डा. रुइतलाई सम्मान

काठमाडौँ । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई बेलायतको लन्डनमा सम्मान गरिएको छ । लन्डनमा आयोजित एक समारोहका बिच रुइतलाई सम्मान गरेको हो ।

दूतावाससँगको सहकार्यमा नेप्लिज डक्टर्स एसोसियसन युकेद्वारा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले डा. रुइतले नेपाल लगायत विश्वका विभिन्न मुलुकका विपन्न समुदायका व्यक्तिहरुको आँखाको शल्यक्रिया गरी उदाहरणीय मानवीय सेवा गरिरहेको बताए ।

उनले डा. रुइतले देश विदेशमा प्राप्त गरेको सम्मानले सम्पूर्ण नेपालीलाई गौरवबोध गराएको बताए । एसोसिएसनका अध्यक्ष डा. कमल अर्यालले डा. रुइतको मार्ग निर्देशन र उत्प्रेरणाले गर्दा चिकित्सा शास्त्र पढाइ हुने दक्षिण पूर्वी एसियाकै सबैभन्दा पुरानो संस्था, कोलकता मेडिकल कलेजमा अध्ययन गरेर चिकित्सक बनेको स्मरण गरे ।

उनले नेपालमा महाभूकम्प तथा कोभिड महामारीका बेला एसोसिएसनले पुराएको सेवाबारे उल्लेख पनि गरे । बेलायत निवासी समाजसेवी तथा व्यवसायी तेज कोहलीले डा रुइत फाउन्डेशनसँगको सहकार्यमा पछिल्ला केही वर्षमा ५० हजार बिरामीको आँखाको सफल उपचार गरेको जानकारी दिए ।

उनले रुइत फाउण्डेसनसंग मिलेर आफ्नो फाउन्डेशनले सन् २०३० सम्ममा विकासशील मुलुकहरुमा बसोबास गर्ने झन्डै दश लाख मानिसहरुको नेत्र परीक्षण गरी तीन लाखदेखि पाँच लाख बिरामीहरुको मोतियाबिन्दुको शल्यक्रिया गर्ने लक्ष लिएर काम गरिरहेको बताए ।

उक्त समारोहमा बोल्दै डा रुइतले एउटा व्यक्तिको आँखाको उपचार हुँदा उनको स्वास्थ्य मात्रै नभै उनको पारिवारिक सम्बन्ध र आर्थिक अवस्थामा पनि सुधार आएको तथ्यलाई मार्मिकरुपमा प्रस्तुत गरे । उनले गरीब समुदायका व्यक्तिहरुको दृष्टि पुनर्बहाली गर्न सघाउन सबैलाई आग्रह पनि गरे ।

लोकप्रिय