एक लाख घुससहित लेखा अधिकृत अख्तियारको फन्दामा
काठमाडौँ । सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेल एक लाख रूपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मङ्गलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि उनले घुस मागेको पाइएको छ ।
पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमक अन्तर्गत सडक डिभिजन लहानका लेखा अधिकृत हुन् । अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्