काठमाडौं महानगरको आगामि आर्थिक बर्षको बजेट पारित

काठमाडौं महानगरको आगामि आर्थिक बर्षको बजेट पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामि आर्थिक बर्ष २०८०/०८१ को बजेट सर्वसम्मत रुपमा पारित भएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको १३ औं नगरसभाको पाँचौं बैठकले बजेट सर्वसम्मत पारित गरेको हो । गत असार १० गते महानगरकी उपप्रमुख सुनिता डंगोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश गरेकी थिइन् ।

बैठकमा नगरसभा सदस्यहरूले फुटपाथ व्यापार निषेध मात्र नगरी त्यसको उचित व्यवस्थापन गर्न अनुरोध गरेका छन् । यस्तै २३ का वडाध्यक्ष मच्चाराजा महर्जनले महानगरबाट हनुमानढोकामा सावरी साधन निषेध गर्न निर्देशन दिएको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए ।

‘महानगरबाट भोलिदेखि हनुमानढोका परिसरमा ताला मार्न निर्देशन दिएको रहेछ,’ उनले नगरसभा बैठकमा भने, ‘हामी चार वटा वडा र त्यहाँका स्थानीयहरू बसेर समितिमा छलफल गरिरहेका छौं । समितिहरूसँग छलफल गरेर ३१ गतेसम्म निष्कर्ष निकाल्ने गरी काम गरिरहेका छौं ।’

महानगरले दश वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब रुपैयाँ विनियोजन गरेको छ । महानगरले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ । शिक्षाका लागि महानगरले ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

लोकप्रिय