प्रधानमन्त्रिसँग खिचेको फोटो देखाउँदै दलित कामदार थर्काउँदै
सोहन पुर्वे, पडरिया । पारिश्रमिक माग्न गएको एक दलित समुदायकी महिला कामदारलाई मधेश प्रदेशमा कृषि फर्म सञ्चालन गरिरहेका एक दम्पतीले प्रधानमन्त्रि तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालसँग खिचेको सामूहिक तस्विर देखाएर पारिश्रमिक नदिई थर्काएको छ ।
प्रधानमन्त्रिको फोटो देखाएर थर्काउने सिरहाको धनगडीमाई ४ मा खोलिएको मोडेल नेपाल कृषि फर्मकि सञ्चालक बबिता साह र सञ्जिव साह हुन् । ४ बर्षअघि खोलिएको यो कृषि फर्म अनाधिकृत लेनदेनका कारण यतिबेला चर्चामा छ ।
कृषि फर्मले ५० घर दलितको बेहाल
धनगढीमाई नगरपालिका–१० मा पर्ने श्यामपुर गाउँमा मगर समुदायको जनघनत्व बढि छ । यहाँका मगर समुदाय प्रशस्त जग्गाजमिन भएकाले अन्य समुदायभन्दा सम्पन्न मानिन्छन् । राजनीतिक रूपमा पनि यहाँका मगरहरू सचेत मानिन्छन् । नेतृत्व गरिरहेका छन् उत्तरबहादुर जर्घामगरले । बिगत लामो समयदेखी कम्युनिष्ट राजनीतिमा सक्रिय उत्तरबहादुर अहिले माधव नेपाल नेतृत्वको नेकपा समाजवादीका सिरहा जिल्लाका उपाध्यक्ष हुन् ।
४ बर्ष अघिको कुरा हो । एक दिन उनलाई शिक्षामन्त्रि समेत रहेका माओवादी नेता गिरिराजमणी पोखरेलको मोवाईलबाट फोन आउँछ । पोखरेलले फोनमा उक्त कृषि फर्मको लागि जग्गा भाडामा उपलब्ध गराईदिन आग्रह गर्छन् । उत्तरबहादुरले सल्लाह गरेर निष्कर्षमा पुगेपछि खवर गर्ने जवाफ दिन्छन् । उत्तरबहादुर लगायत उनका नातागोता र छिमेकीहरूको गरि निमचोकमा करिव ६० बिगाहा जग्गाको एउटै प्लट छ । उक्त प्लटसँग साँध जोडिएको नरहाका सन्तोष महरा र गोलबजारका ललन साहको दुई बिगाहा जग्गा मोडर्न नेपाल कृषि फर्मले सवा एक करोडमा खरीद गरेर फर्मको भौतिक संरचना बन्दै थियो ।
मुलुककै नमुना कृषि फर्म खोल्ने र सयौँलाई रोजगारी सिर्जना गर्ने नेता पोखरेलको कुराले उत्तरबहादुर रोमाञ्चित बन्छन् । तर सदियौँदेखी उक्त खेत बटिया गरेर परिवार चलाईरहेका ५० घरपरिवार दलित समुदायलाई के भन्ने रु कसरी जग्गा छोड भन्ने उनी बिलखबन्दमा पर्छन् ।
यस्तैमा आईडिया फुर्छ कृषि फर्ममा दलित समुदायका महिला पुरूष सबैलाई काम दिने र उनिहरूले बटिया गरिरहेको जग्गा फर्मलाई भाडामा दिने । यो शर्त सबै पक्षले स्विकार्छन् । उत्तरबहादुर लगायतको ६० बिगहा जग्गा प्रति कठ्ठा ४० किलो धानले बटिया गरिरहेका दलितहरूसँगको सम्झौता भगं गर्दै दुई गुना बढि प्रतिकठ्ठा ८० किलो धानमा उक्त कृषि फर्मलाई दिईन्छ –१० बर्षको लागि ।
तिनै दलित समुदायको सकृषयतामा रातारात कृषि फर्मको भौतिक संरचना तयार हुन्छ । आसपासका गाउँहरूबाट ४ सय ५० गाईभैँसी बटुलिन्छ । फर्म सञ्चालनमा आउँछ । पहिला बटिया गर्ने २ सय ५० दलितले त्यहाँ काम पाउँछन्, गोबर सोहर्ने, घाँस काट्ने, पानी खुवाउने, नुहाउने, गाईभैँसीको स्यहार सुसार गर्ने ।
मधेश प्रदेशकै नमुना भनेर प्रचार गरिएको कृषि फर्म हेर्न उतिबेला शिक्षामन्त्रि रहेका पोखरेल, संघ र प्रदेशका साँसदहरू, प्रदेश सरकारका मन्त्रिहरू, सिडियो, एसपी, डिएसपी लगायतका ठूलाठालु भनौदाहरूको दैनिकजसो लर्को लाग्नथाल्छ । मिडियाहरूमा दैनिकजसो फर्मको चर्चापरिचर्चा चल्छ । कृषि फर्म रहेको धनगढीमाई नगरपालिका–४ का वडाध्यक्ष ओम यादव भन्छन्, ‘चर्चापरिचर्चा धेरै हुनथाले पछि हामी सबै वडाबासीहरूलाई हर्षित तुल्यायो । मैले नगरकार्यापालिका बैठकमा हाम्रो वडालाई कृषि हब बनाउन प्रस्ताव गरेँ, पास गराएँ । जुन अहिले कार्यान्वयनको चरणमा छ ।
नेपथ्यको कालो कथा
तर, आवरणमा बढो तामझाम देखिएको उक्त कृषि फर्मको भित्रि कथा भने भित्रभित्रै कहालिलाग्दो चरणमा प्रबेश गरिसकेको थियो । कामदारहरूले तलब पाएका थिएनन् । फर्मलाई गाईभैँसी बेचेकाहरूले पैसा पाएका थिएनन् । वडासदस्य ललिता कुमारी सदाय भन्छिन्, विहान उज्यालो हुन नपाउँदै पैसा माग्न लिन आउनेहरूको भिड नै लाग्न थालेको थियो । त्यो अवस्था अहिले पनि छ ।
काम गरेको पैसा नपाउँदा सवपरिवार उक्त कृषि फर्ममा काम गरिरहेका ववडासदस्य ललिताकुमारी सदाय मुसहरको परिवारले मात्रै होईन तलब नपाउँदा चुल्हो बल्न छाडेपछी सबैले काम छोड्छन् । दवाव बढाएपछि केहीले पारिश्रमिक पाउँछन्, केहीले भने ४ बर्ष बित्नै लागेको छ तर काम गरेको श्रमको ज्याला पाएका छैनन् । वडासदस्य सदाय भन्छिन्, ‘ज्याला माग्न गयो भने फर्मकी साहुनि बबिताले मात्रामा प्रधानमन्त्रि प्रचण्डसँग खिचाएको फोटो देखाउँदै हामीसँग प्रधानमन्त्रि देखि प्रहरीर प्रशासन छ । तिमिहरूले मेरो एउटा रौँ पनि उखेल्न सक्दैनौ भनेर हकार्छिन ।’
कमाउन दिल्लि – पञ्जाव
बटिया गरेर परिवार चलाउँदै आएको जग्गा दुईगुना बढिमा उक्त कृषि फर्मले १० बर्षका लागि भाडामा लिएपछि र सहमति अनुसार कृषि फर्मले रोजगारी समेत दिन छाडेपछि यहाँका दलित समुदायका पुरूषहरू कामको शिलशिलामा छिमेकी देश भारत भास्सिएका छन् । निमचोकको ऐलानी जग्गामा पुर्खौँदेखी बसोबास गर्दैआएका धेरैजसो पञ्जावको खेतखलियानमा नङ्ग्रा खियाईरहेकाछन् १ बर्षअघि रोजगारीका लागि श्रीमान मलेशिया पठाएकी वडासदस्य सदाय भन्छिन्, ‘केही दिल्लिका उद्योग र कलकारखानामा काम गरिरहेकाछन् । पुरूष बिहिन अबस्थामा रहेकामा निम चोकको यो दलितबस्ति यतिबेला रोग र भोकसँग संघर्ष गरिरहेको छ ।
भनिन्छ, श्रीमती बबिताको नाममा कृषि फर्म खोलेर नेपाल एस बि आई बैकं मार्फत सञ्जिव साहले फर्मका नाममा २४ करोड कृषि अनुदान स्वीकृत गराएकोमा १५ करोड लिईसकेका छन भने आउँदो साउन पहिलो साता बाँकीरहेको ९ करोड पनि निकाल्दैछन् । कृषि फर्म खोलेर ५० घर दलित समुदायलाई बिल्लिबाठ बनाएका सञ्जिव भन्छन्, ‘मलाई ठग भनेर प्रमाणित गरेर देखाउन म चुनौती दिन्छु ।’ माओवादी नेता गिरिराजमणी पोखरेललाई सञ्जिव मामा भनेर सम्बोधन गर्छन् ।

प्रतिकृया दिनुहोस्