एमाले सचिवालयको बैठक आज बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक शनिबार (आज) बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनात्मक कामको अवस्था, अभियानको विषयमा छलफल हुने उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार र बिहीबार उपाध्यक्षहरूसँग छलफल गरेका थिए । विभागीय कामहरूको संयोजन गरिरहेका उपाध्यक्षहरूसँगको छलफलकै आधारमा कार्यसूची तय हुने नेम्वाङले बताए । ‘कार्यसूची तय भइसकेको छैन ।
पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुन्छ । उपाध्यक्षहरूले आफूले जिम्मा पाएका विभागहरूको कामको ब्रिफिङ गर्नुभएको छ । केहीले भ्याउनुभएको थिए । आज उहाँहरूले ब्रिफिङ गर्ने, त्यसमाथि पनि छलफल हुन्छ,’ उनले भने ।
एमालेले गत फागुन ५ गतेदेखि वैशाख ९ गतेसम्म मिसन ग्रासरूट अभियान चलाएको थियो । अहिले फरक भूगोलमा कार्यक्षेत्र रहनेगरी संगठन सुदृढीकरण र परिचालन अभियान चलाइको छ ।
अभियानले प्रत्येक वडामा मतदाता संख्याको ३ प्रतिशत नघट्नेगरी पार्टी सदस्य विस्तार गर्ने, काम गर्नेलाई प्रोत्साहन नगर्नेलाई बिदा, अधिवेशन आयोजक कमिटी गठन गर्ने र चैत मसान्तभित्र वडादेखि प्रदेश तहका कमिटीसम्मको अधिवेशन गर्ने अभियानको लक्ष्य छ ।

प्रतिकृया दिनुहोस्