कांग्रेस–एमालेले भनेझैँ रास्वपा सिद्धान्तविहीन पार्टी हो ?
उपेन्द्र केसी ।
राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् रास्वपा पार्टी स्थापना भएको एक वर्ष बितेको छ । स्थापना भएको एक वर्षमै यो पार्टीले देशको राष्ट्रिय राजनीतिलाई तरंगित पारेको छ । र, पार्दै आएको छ । रास्वपाको उपस्थितिले देशको राजनीतिमा आशा जगाएको छ । पुराना राजनीतिक दल र नेताहरूबाट निराश देखिएका जनतामा थोरै भए पनि यो पार्टीले भविष्यप्रति आशा जगाएको छ ।
यसबीच यो पार्टीप्रति देखिएको आशा र विश्वासलाई निरन्तरता दिँदै अघि बढ्यो भने रास्वपाको भविष्य राम्रो छ । देशको अवस्थामा परिवर्तन घण्टी बजाएर मात्रै ल्याउन सकिन्छ भन्ने आमयुवाहरूमा बलियो जनमत निर्माण हुन थालेको छ । आशा छ, रास्वपाप्रति आममानिसले देखाउँदै आएको आशा र विश्वासलाई जोगाउँदै यसका नेताहरूले पार्टी संगठनलाई बलियो बनाउँदै अघि बढाउनेछन् ।
रास्वपामा यहाँसम्म आइपुग्न जति अप्ठ्यारा र चुनौतीको सामना गरेको देखियो । आउने दिनहरूमा पनि यो पार्टी र यसका नेताहरूले अझै कडा चुनौती र षड्यन्त्रहरूको जालो चिर्दै अघि बढ्नुपर्ने हुन्छ । यसो भनूँ, रास्वपाका लागि आगामी दिनहरू सोचेजस्तो र सरल र सहज हुने छैनन् । सकसपूर्ण र कष्टसाध्य नै छ ।
अबका दिनहरूमा स्थापित भनिएका राजनीतिक दलहरूको तारो रास्वपा नै हुनेछ । यो पार्टी र यसका नेताहरूलाई पाइला–पाइलामा खेद्नेहरूको संख्या कम होइन, अझ बढी नै हुनेछ । रास्वपाप्रतिको आममानिसको बढ्दो आकर्षण र प्रभावलाई रोक्न यो पार्टीमाथि चौतर्फी घेराबन्दी र हमलाहरू हुनेछन् । नियोजित र संगठित रूपमा रास्वपामाथि हुने आक्रमणहरूलाई चिर्न जति त्यसका नेताहरू सफल हुनेछन्, त्यति नै त्यो पार्टी आमजनताका बीचमा अझै बढी लोकप्रिय हुँदै जानेछ ।
रास्वपालाई यो वा त्यो कोणहरूबाट उडाउनेहरूको पनि कमी छैन । कतिपय राजनीतिक दलहरूका शीर्ष नेताहरूले नै सार्वजनिक रूपमा रास्वपा पार्टीतर्फ इंगित गर्दै विचार र सिद्धान्त नभएको पार्टी भनेर उडाइरहेको सुनिएको छ । विचार र सिद्धान्त नभएका पार्टीहरूप्रति देशमा लहर नै चलेको छ भन्दै अमिलो अनुहार पारेर यो पार्टीप्रति ईष्याभाव प्रकट गरेको पनि देखिएको छ । विचार र सिद्धान्त नबोकेकाले रास्वपाको भविष्य छैन । र, यो पानीको फोकाजस्तै हो । विस्तारै यो बिलाउँछ, सेलाउँछ, अनि हराउँछ भन्दै अन्य राजनीतिक दलका नेताहरूले आत्मसन्तुष्टि लिएको पनि देखिएको छ ।
यी सबैको जवाफ रास्वपाका नेताहरूले व्यवहारबाटै आउने दिनहरूमा दिँदै जानुपर्नेछ । पुराना र नयाँ भनिएका पार्टीहरूबीचको फरकपन आममानिसले पनि पक्कै खोजी गर्नेछन् । त्यसैले रास्वपाका नेताहरूले संगठन निर्माणको शैलीदेखि पार्टीहरूका सार्वजनिक कार्यक्रमहरूमा फरकपन देखाउन सक्नुपर्नेछ । नयाँ र पुराना पार्टीहरूबीचको कार्यशैली र व्यवहारमा देखिएको फरकपनले मात्रै नयाँ पार्टीमा ऊर्जा थपिनेछ ।
स्थापित राजनीतिक दल अर्थात् कांग्रेस, एमाले र माओवादीहरूबाट केही हुँदैन भन्ने निष्कर्षमा आममानिस पुगेको देखिन्छ । त्यो असन्तुष्टिलाई रास्वपाका नेताहरूले आउँदा दिनमा कसरी ग्रहण गर्छन् त्यो अझै हेर्नु नै छ । जनताको पंक्तिमा मात्रै होइन, पुराना भनिएका पार्टीका कार्यकर्ता पंक्तिमा पनि असन्तुष्टि बिस्तारै देखिन थालेको छ । यसमा रास्वपाका नेताहरूले कसरी खेल्छन्, त्यसले नै रास्वपाको देशव्यापी रूपमा भैराखेको संगठन विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
पछिल्लोपल्ट भएको उपनिर्वाचन र त्यसअघि भएको आमनिर्वाचनले आममानिसको रास्वपा पार्टीप्रति आकर्षण बढेको देखाएको छ । चितवनमा पार्टी सभापति रवि लामिछानेलाई हराउन राज्यसत्ता नै लागेको थियो । तर, गठबन्धनका उम्मेदवारले सर्मनाक पराजय व्यहोर्नुप¥यो । उनीहरूको केही लागेन । त्यहाँ जनताको अपार माया र स्नेह रास्वपाका सभापति लामिछानेले पाएको देखियो । निर्वाचनको रेसमा लामिछानेले प्रतिस्पर्धी कांग्रेस र एमालेलाई धेरै पछाडि छाडिदिए ।
सो परिणामले कांग्रेस–एमालेप्रति जनता वाक्कदिक्क भएको देखियो । कांग्रेस–एमालेप्रति जनतामा आशा र विश्वास हराएको देखियो । कांग्रेस र एमालेमा जनताको आशा मरेको र विश्वास हराएकै कारण पनि रास्वपा र त्यसका सभापति लामिछानेप्रति जनतामा आशा पलाएको हो ।
जनतामा रास्वपामाथि पलाएको त्यो आशाको टुसालाई कसरी जोगाएर रास्वपा नेतृत्वले हुर्काउँछ, त्यसमा नै उसको भविष्य अडिएको छ । पछिल्लो समय जनतामा लोकतन्त्रप्रति नै निराशा फैलिन थालेको छ । पटक–पटक व्यवस्था परिवर्तन भयो । तर, देशको अवस्था कहिल्यै परिवर्तन भएन । नेताहरूले लगाउँदै आएका समृद्धिका नाराभित्र गरिबी र बेराजगारीको मात्रै उत्पादन भइरहयो । देशले अर्थतन्त्रको ओरालो यात्रा समातिरह्यो । देशका प्रमुख शहरहरूका पसल र सटरहरूमा ताला लाग्ने क्रम घटेको छैन, बढी नै रहेको छ ।
आममानिसलाई आर्थिक मन्दीको प्रभावले गाँज्न थालेको छ । पेसा र व्यवसायसँग आममानिसहरू जोडिने होइन, छोडिने क्रम बढी नै रहेको छ । यस्तो अवस्थामा रास्वपाले मात्रै होइन, कुनै पनि राजनीतिक पार्टीहरूले जनतामा बढ्दै जान थालेको निराशालाई चिर्ने खालका कार्यक्रम व्यवहारमै ल्याउन जरुरी छ ।
हाम्रो देशको संसदमा योपटक धेरैको आँखा तानियो । तानिरहेको छ । संसदमा भएका गतिविधिहरूका रेकर्ड अहिले धेरैभन्दा धेरै मानिसहरूले हेर्ने सामाचार बन्न थालेको छ । देशको राजनीतिबाट अब मुलुक पार लाग्दैन भनेर निराश भएका जनतामा रास्वपाको उपस्थितिले आशा जगाउन थालेको छ । देशमा मात्रै नभएर पछिल्लोपल्ट संसद हेर्ने र सुन्ने रूचि विदेशमा पनि ह्वातै बढेर गएको देखिएको छ । प्रविधिमा आएका तथ्य तथ्यांकले त्यस्तो देखाएको छ ।
पहिलोपटक संसदप्रतिको आममानिसमा रूचि बढ्नुमा रास्वपाको उपस्थिति नै प्रमुख कारण हो । भलै, सिट संख्यामा थोरै भए पनि रास्वपाका सासदहरूले खेलेको महत्त्वपूर्ण भूमिकाका कारण संसदप्रतिको आकर्षण आममानिसमा बढ्न पुगेको हो ।
रास्वपाका सांसदहरूले संसदमा आमजनताका कुरा उठाएका कारण संसदप्रति धेरैभन्दा धेरै मानिसहरूको आँखा गएको हो । अहिले पनि जनताले निकै होसियारीपूर्वक रास्वपाका सांसदहरूले के बोल्छन् र कस्तो भूमिका निर्वाह गर्छन् भनेर नियालिरहेका छन् । त्यसैले पनि आगामी दिनहरूमा रास्वपाका सांसदहरूले संसदमा बोल्ने र खेल्ने भूमिकाप्रति निकै गम्भीर हुनुपर्ने देखिन्छ ।
जनताले रास्वापाका सांसदहरूले बोलेका र खेलेका भूमिकाकै आधारमा उनीहरूको पार्टीको मूल्यांकन गर्ने भएकाले निकै सचेततापूर्ण ढंगबाट उनीहरू संसदमा प्रस्तुत हुनुपर्ने देखिन्छ । अहिले पनि संसदमा संख्याका हिसाबले पुराना भनिएका पार्टीहरूकै वर्चस्व छ । तर, रास्वपाले संख्याको हिसाबले थोरै भए पनि प्रभावका हिसाबले धेरै देखिने गरी भूमिका निर्वाह गर्दै आएको छ । अहिलेसम्म संसदमा आफ्नो फरक र अर्थपूर्ण अस्तित्व देखाउन सफल भएको छ ।
त्यसैले संसदमा उनीहरूले अर्थात् रास्वपाका सांसदहरूले थोरै गल्ती गरे भने पनि त्यसले सिङ्गो पार्टीमा आँच आउनेछ । देशव्यापी रूपमा तीव्रताका साथ निर्माण हुँदै गएको संगठनमा गतिरोध ल्याउनेछ । त्यसैले पनि रास्वपाका सांसदहरूलाई संसदमा अलिकति पनि गल्ती गर्ने छुट छैन । केही दिनअघि रास्वपाका सभापति लामिछानेले संसदीय मामिलाका रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको भेटघाटका क्रममा आफ्नो पार्टीलाई गल्ती गर्ने छुट नभएको बताएका छन् ।
लामिछानेले पत्रकारहरूका बीचमा त्यो आफ्नो मनका कुरा बताएका हुन् भन्ने लाग्छ । वास्तवमा उनले त्यो ठीकै भने । यसबीच रास्वपाले गल्ती ग¥यो भने सबै पार्टीहरू उस्तै हुन् भन्ने सन्देश जानेछ । र, यसले आममानिसमा देशको राजनीतिप्रति नै वितृष्णा फैलाउनेछ । साथै, देशमा राजनीतिप्रति नै निराशा फैलिनेछ । त्यसो हुनु भनेको रास्वपा पार्टीको भविष्यका लागि मात्रै होइन, त्यसले देशको लोकतन्त्र र सिङ्गो भविष्यलाई नै ड्यामेज गर्नेछ ।

प्रतिकृया दिनुहोस्