नेपालले भारतको ए लाई दियो १६८ रनको लक्ष्य

नेपालले भारतको ए लाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारतको ए टिमलाई १६८ रनको लक्ष्य दिएको छ । कोलम्बोमा प्रेमदसा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३९.२ ओभरमा १६७ रनमा अलआउट भयो ।

खराब सुरुवात गरे पनि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे । रोहितले निशान्त सिन्धुको बलमा क्याचआउट हुनुअघि ६५ रन जोडे । उनले ८५ बलमा ७ चौका हिर्काए । १० ओभरमा ३७ रन जोड्दा ५ विकेट गुमाएको नेपालका लागि रोहितले सोमपाल कामीसँग छैटौं विकेटका लागि ५३ रन र गुल्सन झासँग ५४ रनको साझेदारी गरेका थिए ।

सोमपाल १४ रनमा आउट भएका थिए । गुल्सनले महत्वपूर्ण योगदान दिने क्रममा ३० बलमा समान २÷२ चौका र छक्का प्रहार गर्दै ३८ रन जोडे । ओपनर कुशल भुर्तेल शून्यमा आउट भए । उनलाई दोस्रो बलमा भारतका हर्षित रानाले एलबिडब्लूको धरापमा पारे । यस्तै अर्का ओपनर आसिफ ७ रनमा राजवर्धनबाट विकेट पछाडि समातिए ।

देव खनाल १५ रन बनाएर खेलिरहदा राजवर्धनकै बलमा रियान परागबाट समातिए । भीम सार्की हर्षित रानाबाट ८।५ ओभरमा ४ रनमा बोल्ड भए । कुशल मल्ल शून्यमा राजवर्धनको बलमा अभिषेक शर्माबाट समातिए । पवन सर्राफले ६ रन जोड्न सके ।

बलिङमा भारतका निशान्त सिन्धुले ४ विकेट लिए । उनले ३.२ ओभरमा १४ रन दिए । राजवर्धनले ३ विकेट लिए भने हर्षित रानाले २ विकेट हात पारे । यसअघि नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमसँग ४ केटको हार बेहोरेको थियो ।

लोकप्रिय