एसिसी इमर्जिङ कपमा नेपालको कमजोर प्रदर्शन, भारत ‘ए’ संग फराकिलो अन्तरले पराजित

एसिसी इमर्जिङ कपमा नेपालको कमजोर प्रदर्शन, भारत ‘ए’ संग फराकिलो अन्तरले पराजित

एजेन्सी । श्रीलंकामा जारी एसिसी इमर्जिङ एसिया कपमा नेपालले कमजोर प्रदर्शन गरिरहेको छ । पहिलो खेलमा पाकिस्तान ए संग फराकिलो अन्तरले पराजित भएको नेपाल दोस्रो खलमा भारत ए संग पनि ९ विकेटले पराजित भएको छ । भारतसँग पराजित भएसँगै नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

जितको लागि १ सय ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २२.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा अभिषेक शर्माले ६९ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ८७ रनको योगदान दिए ।

पहिलो विकेटका लागि ओपनर साई सुदर्शन र अभिषेक शर्माले १९ ओभरमा १ सय ३९ रनको शतकीय साझेदारी गर्दै सहज जितको आधार तय गरेका थिए ।

साई सुदर्शन ५२ बलमा ८ चौका र १ छक्कासहित ५८ रनमा नट आउट रहे । त्यस्तै ध्रुब जुरेल १२ बलमा १ चौका र २ छक्कासहित २१ रनमा नट आउट रहे ।

त्यसअघि श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल मात्रै ३७.२ ओभरमा १ सय ६७ रनमा अल आउट भयो । पहिलो खेलमा नेपालका शीर्ष ६ ब्याटरको सम्झन लायक प्रदर्शन थिएन । दोस्रो खेलमा पनि त्यहिँ प्रदर्शनले निरन्तरता पायो । कप्तान रोहित पौडेलले ८५ बलमा ७ चौकासहित सर्वाधिक ६५ रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरले अर्धशतकीय इनिङ खेल्न सकेनन् ।

गुलशन झा ३० बलमा २ चौका र २ छक्कासहित ३८ रनमा क्याच आउट भए । एक समय ९०–६ को दयनीय अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि रोहित र गुलशन झाले ५६ बलमा ५४ रनको साझेदारी गर्दै सम्मानजक योगफलमा पुर्याएका थिए ।

नेपालको शीर्षक्रम ब्याटिङ पुन तीव्र गतिका बलर सामु निरिह बन्यो । कोलकाताबाट आइपिएल खेलि सकेका तीव्र गतिका बलर हर्षित रानाले इनिङको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई एलबीडल्लू आउट गर्दै शून्यमा पेभेर्लिएन फर्काएका थिए ।

 

लोकप्रिय