नेपालले आज युएई ए विरुद्ध खेल्दै
काठमाडौं । नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा आज युएई ए विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान १०ः १५ मा पि सारा ओभल कोलोम्बोमा सुरु हुनेछ । नेपालको यो अन्तिम खेल हो ।
भारत र पाकिस्तान ए सँग लगातार हारका साथ सेमिफाइनल सम्भावना सकाएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १ सय ७९ र भारतसँग १ सय ६७ रनमा अल आउट भएको थियो ।
युएईविरुद्ध नेपालबाट उत्कृष्ट ब्याटिङको अपेक्षा गरेको थियो । युएईले पहिलो रोजाईको टोली पठाएको छैन । आफ्नो दोस्रो र नयाँ रोजाईका खेलाडी पठाएको छ ।
नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो ।
युएई ए लाई जितको कुनै दबाब छैन । पछिल्लो समय सिनियर टोलीेले नेपालसँग लगातार हार्दै आएको छ । दबाब नेपाललाई हुनेछ । दोस्रो रोजाईको टोलीलाई हराउन बाहेक अन्य कुनै विकल्प हुनेछैन । नेपालले आजको खेलमा आसिफ शेखलाई बेन्चमा राखेर अर्जुन साउदलाई मौका दिनसक्छ ।
अर्जुन आक्रामक ब्याटिङको क्षमता राख्छन् । नेपालले पवन सरार्फको स्थानमा सन्दीप जोरालाई मौका दिने सम्भावना देखिन्छ । पवनले सुरुवाती दुई खेलमा १ र ६ रन बनाएका छन् । सन्दीप जोरा फिनिसरको रुपमा खेल्नेछन् । नेपालले भीम सार्कीको स्थानमा प्रतिश जि.सीलाई मौका दिनसक्छ । स्पिनर ललित नारायण राजवंशीको स्थानमा सूर्य तामाङलाई मौका दिनसक्छ ।
युएईको ए टोली र नेपालको लागि यो खेल प्रतिष्ठाको लडाई हुँदा आफ्ना बेन्चका सबै खेलाडीलाई मौका दिने सम्भावना देखिन्छ । नेपालका ओपनर कुशल भुर्तेल र अर्जुन साउदले राम्रो सुरुवात दिलाउनु पर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस्