जो सुकैलाई प्रधानमन्त्री बनाए पनि हुन्छ, तर केपी शर्मा ओलीलाई फल्नैपर्छ भनेर भन्ने उहाँहरु नै हो : माधव नेपाल

जो सुकैलाई प्रधानमन्त्री बनाए पनि हुन्छ, तर केपी शर्मा ओलीलाई फल्नैपर्छ भनेर भन्ने उहाँहरु नै हो : माधव नेपाल

 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लामो समय आफूसँग रहेका तर नयाँ पार्टी गठनमा साथ नदिएका दोस्रो पुस्ताका नेताहरुबारे प्रतिक्रिया दिनुभएको छ । जो सुकैलाई प्रधानमन्त्री बनाए पनि हुन्छ, तर केपी शर्मा ओलीलाई फल्नैपर्छ भनेर भन्ने उहाँहरु (दोस्रो पुस्ताका नेता) हरु नै हो अध्यक्ष नेपालको आरोप रहेको छ ।
आजै पार्टी खोलौं, भोलि पार्टी खोलौं भनेका दोस्रो पुस्ताकै नेताहरुले आफूले भन्दा पहिला दुई वटा दल निर्वाचन आयोगमा दर्ता गराएको स्मरण गर्नुहुँदै ती नेताहरु अहिले एमालेमै फर्किएपछि नेपालले प्रश्न गर्नुभयो–‘ओली सुध्रिएका हुन् ?’
पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपालले २ भदौमा एमाले विभाजन गरेर नयाँ दल घोषणा गर्नुभएको थियो । तर नवौं महाधिवेशनदेखि एउटै समूहमा रहेका र संसद विघटनसँगै अध्यक्ष ओली शर्मा ओलीविरुद्ध संघर्ष गरेका १० स्थायी कमिटी सदस्य एमालेमै फर्किएका छन् ।
उपाध्यत्रय भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य तथा स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहराले एमाले छाडेनन्् । १० बुँदे कार्यान्वयन गर्ने सहमति भएको भन्दै दोस्रो पुस्ता अडिएपछि नेपाल समूहका केन्द्रीय सदस्य र सांसदहरु पनि एमालेमै रहेका थिए ।
शनिबार पेशागत महासंघ नेपाल, बाग्मती प्रदेशले शनिबार गरेको जिल्लास्तरीय भेलामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले २३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज भएपछि आफूहरु विद्रोही आवाजका साथ एमालेमै बस्न चाहना रहेको भएपनि त्यसबेला आफूलाई दोस्रो पुस्ताका नेताहरुले ‘आजै पार्टी घोषणा गरौं, भोलि नै पार्टी घोषणा गरौं’ भनेर दबाव दिने गरेको सम्झिनुभयो ।
‘केपी ओली प्रतिगमनका बाहक हुन्, दक्षिणपन्थी भासमा भासिएका छन् । विदेशीसामू लम्पसार परेका छन् । त्यसैले जसरी पनि फाल्नुपर्छ । दोस्रो पुस्ताका नेताहरु भन्थे’ उनले भने, ‘तयार नभएका शेरबहादुर देउवालाई तयार गर्न साथीहरु जानुभएको थियो । माओवादीलाई एक ठाउँमा ल्याउन भूमिका खेल्नुभयो । उपेद्र यादवलाई त्यो विश्वास दिलाउनुभएको थियो ।’
आफूहरुको साथ पाउने भएपछि नै कांग्रेस, माओवादी र जसपा तयार भएको उहाँले बताउनुभयो । नेता नेपालले आफूलाई छाडेका दोस्रो पुस्ताका नेताहरुलाई सम्झिँदै भन्नुभयो, ‘बलियो मोर्चा बन्न थालेपछि अगाडि बढ्नुस्, जो सुकैलाई प्रधानमन्त्री बनाए पनि हुन्छ, तर केपी शर्मा ओलीलाई फल्नैपर्छ भनेर भन्ने उहाँहरु नै हो ।’
त्यसबेला पनि आफूले ओलीलाई फाल्न त सकिन्छ, तर संसदमा आफूहरु चाहिने भनेर सम्झाएको बताउनुभयो । ‘संसदबाट राजीनामा दिएर निस्क्यौं भने संख्या पुग्र्दैन । प्रधानमन्त्रीलाई सडकबाट फाल्न सकिँदैन, संसदबाटै हटाउनुपर्छ । त्यसैले संसदको गतिविधिमा भाग नलिऔं, बहिस्कार गरौं भने’ उहाँले भन्नुभयो ।
त्यहीअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिँदा आफूहरु संसदमा अनुपस्थित भएको अध्यक्ष नेपालले बताउनुभयो । फेरि प्रधानमन्त्री बनेको ओलीले सर्वोच्च अदालतको फैसला विपरीत फेरि संसद विघटन गर्न खोजेपछि संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि बहुमत सदस्यको हस्ताक्षर जुटाउनु परेको उहाँले बताउनुभयो ।

लोकप्रिय