परराष्ट्र मन्त्री साउद कतार प्रस्थान, हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्ने
काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउद आज (शनिबार) कतार गएका छन् । कतारको दोहामा सुरु हुने २१ औँ दोहा फोरममा सहभागी हुन आज बिहान मन्त्री साउद त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनले भोलिदेखि सुरु हुने दोहा फोरममा सहभागिता जनाउनुका साथै इजरायलको हमासले बन्दी बनाइएका विपिन जोशीको रिहाइका लागि पहल गर्ने बताइएको छ । मन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग भेटेर जोशी रिहाका लागि पहल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कतार जानुअघि मन्त्री साउदले नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए । मङ्सिर १९ गते भएको भेटघाटमा मन्त्री साउदले हमासको कब्जामा रहेका जोशीलाई रिहाका लागि पहल गरिदिन आग्रह गरे ।
उनले आफू कतार गएका बेला यस विषयमा कुराकानी गर्ने र यसका लागि सबै व्यवस्था मिलाउन आग्रह गरेका थिए । त्यसअघि मङ्सिर ८ गते कतारका विदेश राज्यमन्त्री अल–मुखारी र मन्त्री साउदबीच भेटवार्ता भएको थियो । नेपाल भ्रमणमा आएका मुखारीसँग उनले मन्त्रालयमा भेटघाट गर्दै जोशीको रिहाइका विषयमा कुराकानी गरेका थिए ।
त्यसपछि उनले मङ्सिर १३ गते बिहान कञ्चनपुरको महेन्द्रनगरमा पुगेर विपिन जोशीका आमाबुवालाई भेटेका थिए । उनले विपिनका आमाबुबालाई आफू कतार जान लागेको र त्यहाँ पुगेर जोशीको रिहाइका लागि पहल गर्ने आश्वासन दिएका थिए ।
मन्त्री साउदले त्यसअघि मङ्सिर ७ गते नेपालका लागि इजरायली राजदूतलाई बोलाएर जोशीको बारेमा छलफल गरेका थिए ।
प्रतिकृया दिनुहोस्