पशुपतिमा बालाचतुर्दशी पर्वको सम्पूर्ण तयारी पूरा

काठमाडौं । बालाचतुर्दशी पर्वका लागि पशुपतिनाथ मन्द्रिरमा सम्पूर्ण तयारी पूरा गरिएको छ । पशुपतिनाथ मन्दिर परिसरमा आइतबार राति देखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए । उनका अनुसार कोषले बालाचतुर्दशीको अवसरमा दीप प्रज्ज्वलन देखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढङ्गले कार्यसम्पन्न गर्नेसम्मको व्यवस्था कोषले मिलाएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए ।
यसैगरी मृगस्थलीभित्र मृग राखेको स्थानमा पनि शतबीज छर्ने परम्परा भएको मृगस्थली प्रवेश गर्ने द्वारमा पनि विशेष सुरक्षाकर्मीको टोली परिचालन गरिने कोषले जनाएको छ । कोषले पर्व, मेला र विशेष अवसरमा चोरीका घटना पनि हुनसक्ने संभावनालाई मध्यनजर गरी बहुमूल्य गरगहना लगाएर नआउन पनि भक्तजनलाई आग्रह गरेको छ । यसैगरी छालाको जुत्ता पनि नलगाइदिन अनुरोध गरिएको छ ।
मदिराजन्य पदार्थ बिक्री वितरण हुन नदिन तथा अन्य अवाञ्छित गतिविधि नहोस् भन्नका विशेष सुरक्षा टोली परिचालन गर्नुका साथै ठाउँ ठाउँमा सिसी क्यामेरा जोड्ने काम गरिएको कोषका सदस्यसचिव खत्रीले बताए । यसैगरी पशुपतिनाथ मन्दिर परिसरमा यही मङ्सिर २४ गते रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वमा जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस्