७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसः मानवअधिकार सम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ – प्रधानमन्त्री प्रचण्ड

७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसः मानवअधिकार सम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ – प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । ७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । दिवसको अवसरमा आईतबार (आज) शुभकामना दिँदै प्रधानमन्त्री पुुष्प कमल दाहाल प्रचण्डले जातीय, क्षेत्रीय, लैङ्गिक तथा परम्परागत विभेदका कारणलाई सम्बोधन गर्न संविधानमा मौलिक हकको व्यवस्था भए बमोजिम कानुन बनाइ मानवअधिकारको प्रत्याभूति दिलाउन सरकार प्रयत्नशील रहेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले प्रत्येक व्यक्तिको जीवन, मर्यादा, समानता, स्वतन्त्रताका साथै मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन गरी मानवअधिकार संस्कृतिको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए । सरकारले नेपाल पक्ष भएका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको दायित्व पूरा गर्दै आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले केही बडापत्रमा आधारित र सन्धिजनित समितिमा पेस हुन बाँकी आवधिक प्रतिवेदन साथै विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदन समयमा नै पेस हुनेमा सरकार दृढ रहेको बताए ।

प्रधानमन्त्री दाहालले मानवअधिकार संरक्षणका लागि अहोरात्र खटिने सरकारी तथा गैरसरकारी संयन्त्र, मानवअधिकारको खबरदारी गर्ने मानवअधिकार रक्षक, नागरिक समाज, पत्रकार, कूटनीतिक नियोगलगायत सबैमा शुभकामना व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९४८ को डिसेम्बर १० अर्थात् आजकै दिन मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनलाई विश्व समुदायले मानव अधिकारको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउँदै आइएको छ ।

लोकप्रिय