यू–१९ एसिया कपः अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

यू–१९ एसिया कपः अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

काठमाडौं । एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ । दुबईको आइसिसी ओभल–२ मा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा २६१ रनमा अलआउट भयो ।

अफगानिस्तानका जाम्सीद जार्दानले शतक प्रहार गरे । अन्तिम ओभरमा रिटायर्ड हट हुनुअघि उनले १०६ रन जोडे । उनले १५२ बलमा ८ चौका प्रहार गरे । जाम्सीदले चौथो विकेटका लागि रहिमुल्लाह जुरमतिसँग ८१ रनको साझेदारी गरेका थिए । सो साझेदारी नेपालका दिपेश कँडेलले तोडेका थिए । २८औं ओभरको अन्तिम बलमा सुवास भण्डारीबाट क्याच हुनुअघि रहिमुल्लाहले ६५ बलमा २ चौकाको मद्दतमा ३५ रन जोडे ।

रहिमुल्लाहसँगै नुमान शाहले पनि जाम्सीदसँग ९७ रनको साझेदारी गर्दा अफगानिस्तानको स्कोर बढेको थियो । नुमानले ४१ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ६० रन जोडेको थियो । अफगानिस्तानका खलिल अहमद १३ रन र कप्तान नशीर खान ४ रनमा आउट भए ।

त्यसअघि हेमन्त धामीले सातौं ओभरमा लगातार दुई विकेट लिए । उनले सातौं ओभरको तेस्रो बलमा अक्रम मोहम्मदजइ र चौथो बलमा खालिद तानिवालको विकेट लिए । खालिद १० र अक्रम मोहम्मदजई शून्य रनमै आउट भए । दोस्रो ओभरमै अफगानिस्तानका ओपनर वाफिउल्लाह ताराखिललाई नेपालका गुल्सन झाले दोस्रो ओभरमा आउट गरे । उनले ९ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए । बलिङमा नेपालका हेमन्त धामी, सुवास भण्डारी र गुल्सन झाले २–२ विकेट लिए।

आकाश चन्द र दिपेश कँडेलले १– १ विकेट हात पारे । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने अफगानिस्तान पनि भारतसँग ७ विकेटले पराजित भएको थियो । सेमिफाइनल सम्भावना जिवित राख्न दुवै देशलाई आजको खेल जित्नुपर्ने दबाव छ ।

लोकप्रिय