गौतम बुद्ध विमानस्थल नियमित सञ्चालनको माग

गौतम बुद्ध विमानस्थल नियमित सञ्चालनको माग

बुटवल । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको माग राख्दै स्थानीयले धर्ना दिएका छन् । विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तर्राष्ट्रिय उडान गर्न सरकार उदासीन रहेको भन्दै सिद्धार्थ सञ्जाल रुपन्देहीको अगुवाइमा आजदेखि विमानस्थलमै धर्ना सुरु भएको हो ।

धर्नामा प्रदेशमा गृहमन्त्री सन्तोष पाण्डेय,प्रदेश सांसद सदस्य बसिउद्रिन खान लगायतका जनप्रतिनिधीदेखी सङ्घ संस्थाका पदाधिकारीहरूको साथ रहेको छ ।

सञ्जालको चरणबद्ध आन्दोलन कार्यक्रम अन्तर्गत आइतबारदेखि धर्ना सुरु भएको सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए । उनले गौतम बुद्ध विमानस्थल अर्बौँ लगानी गरेर निर्माण गर्दा पनि सरकारी बेवास्ताका कारण विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको बताए । उनका अनुसार दैनिक २ घण्टाका दरले धर्ना कार्यक्रम विमानस्थल परिसरमा सञ्चालन हुनेछ ।

सञ्जालले यसअघि नियमित सञ्चालनको माग गर्दै प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री देखि विभिन्न निकायलाई ज्ञापन पत्र बुझाइएको थियो । २०७९ जेठ २ गते गौतम बुद्ध विमानस्थल उद्घाटनका दिनबाटै कुवेतको जजिरा एयरलाइन्सले सातामा तीन उडान गरेको थियो ।

त्यसको केही समयपछि हिमालय एयरलाइन्स पनि चार्टर्ड उडान सुरु गरेको थियो । अहिले दुबै एयरलायन्सले उडान रोकेका छन् । नेपाल एयरलाइन्सले अहिले ट्रान्जिट उडान गरिरहेको छ । विमानस्थल सञ्चालनको आशामा करोडौँ लगानी गरेका व्यावसायीहरु अहिले विमानस्थल चलायमान नहुँदा निराश भएका बताएका छन् ।

लोकप्रिय