नेपाल प्रहरीको श्रीमती संघद्वारा भूकम्प पीडितलाई राहात वितरण

नेपाल प्रहरीको श्रीमती संघद्वारा भूकम्प पीडितलाई राहात वितरण

सुर्खेत । नेपाल प्रहरी श्रीमती संघले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहत वितरण गरेको छ । पीडितलाई राहात वितरण कार्यक्रममा संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवर लगायत कार्य समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

संघले जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नम्बर १ राउत गाउँमा रहेका भूकम्प पीडितहरू सुत्केरी महिला– ४२, विद्यार्थी– ५०, मृतकका आफन्त – ३१, ज्येष्ठ नागरिक – ४ गरी जम्मा १२७ घरपरिवारलाई राहत दिएको हो । यस्तै रूकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर – १४ छेपारेमा ४२ मृतकका २८ घरपरिवारलाई राहात सामाग्री वितरण गरिएको संघले जानकारी दिएको छ । भूकम्पबाट पीडित भएका विद्यार्थीहरूको लागि झोला, कापी र कलम साथै अन्य घर परिवारलाई थर्मस, बल्याङ्केट, मोजा, ट्राउजर, मण्डी, टोपी स्विटर र एक्यूबक्स वितरण गरिएको हो ।

राहात वितरणको क्रममा केन्द्रिय अध्यक्ष कुँवरले स्थलगत रूपमा भूकम्प प्रभावित व्यक्ति, परिवारलाई आफूहरूले गरेको मानविय सहयोगबाट आपसी सद्भाव, एकता र राष्ट्रिय भावनाको विकास हुने हुँदा यस्तो विपदको समयमा सबै एकजुट भएर एकअर्कालाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताइन् ।

सेवा भावले अग्र पंक्तिमा अग्रसर भईरहने नेपाल प्रहरी श्रीमती संघले सदैव पीडामा परेका नागरिकहरूलाई जुनसुकै परिस्थितिमा पनि सेवा प्रदान गर्नको लागि अहोरात्र खटिरहेको र भूकम्प पीडित परिवारहरूलाई तत्काल राहात प्रदान गर्नको लागि नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट रू ५ लाख ५५ हजार ५ सय ५५ रूपैँया उपलब्ध गराईसकेको समेत जानकारी दिइन् ।

राहत वितरण कार्यक्रममा अध्यक्ष कुँवर संगै महासचिव अनुश्री पाख्रीन, केन्द्रिय कार्य समिति सल्लाहाकार निलम कडायत, सह–कोषाध्यक्ष कमला खनाल साथै नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष बिन्दु अधिकारी ढकाल र कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल लगायतको सहभागिता रहेको थियो ।

लोकप्रिय