नक्कली कागजपत्र बनाएर विदेश पठाउने गिरोहका ३२ जना पक्राउ

नक्कली कागजपत्र बनाएर विदेश पठाउने गिरोहका ३२ जना पक्राउ

काठमाडौँ । सबै कागजपत्र नक्कली बनाएर विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

उनीहरुलाई बुधवार पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले गत असोज १९ गतेदेखि हालसम्म उक्त प्रकरणका ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

उनका अनुसार नक्कली कागजात बनाई भिजिट भिसामा विदेश जाने प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, एयरलाइन्सका २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्ति ११ जना छन् । उनले ९ जनाको संगठित अपराधमा अनुसन्धान भइरहेको र लिखत सम्बन्धी कसुरमा १२ जनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

८ जना धरौटीमा छुटिसकेको जानकारी दिँदै उनले आजमात्रै थप ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रारम्भ भएको जानकारी गराए ।

लोकप्रिय