प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः खेल तालिका सार्वजनिक

काठमाडौं । पुस ५ गतेदेखि सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले पुस ५ देखि १८ गतेसम्म हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
प्रतियोगिता पहिलो पटक सिङ्गल राउण्ड रोबिनका आधारमा सञ्चालन हुनेछ । ७ प्रदेश र विभागीय टोली एपीएफसहित ८ टोली सहभागी प्रतियोगितामा कूल ३२ खेल हुनेछ । १४ दिन चल्ने प्रतियोगिताका खेल काठमाडौंको टीयू र मूलपानी मैदानमा सञ्चालन हुने छन् ।
राउण्ड रोबिन लिगपछि प्लेअफ र फाइनल खेल हुने छन् । शीर्ष दुई टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने विजेता फाइनल पुग्नेछ । यस्तै तेस्रो र चौथो हुनेले एलिमिनेटर खेल्नेछन् । उक्त खेलको विजेताले पहिलो क्वालिफायरमा पराजित टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको पहिलो दिन चार खेल हुने छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बागमती र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुने छ । दोस्रो खेलमा गण्डकी र लुम्बिनी आमने–सामने हुने छन् ।
मूलपानीमा साविक विजेता सदूरपश्चिमले एपीएफको सामना गर्ने छ भने अर्को खेलमा कर्णाली र कोशी प्रतिस्पर्धा गर्ने छन् । टि–२० ढाँचामा हुने प्रतियोगिताका खेलहरु बिहान साढे ९ बजे तथा दिउँसोका खेल सवा १ बजे सुरु हुने छन् ।
प्रतिकृया दिनुहोस्